कांग्रेस नेता रविन्द्र शाह हत्याका दुई अभियुक्त पक्राउ
नेविसंघका पूर्व केन्द्रीय सदस्य रविन्द्र शाहको हत्या नेत्रविक्रम चन्दका कार्यकर्ताले गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चन्दा नदिएको भन्दै नेत्रविक्रम चन्दका कार्यकर्ताले शाहको हत्या गरेको हुन ।
आज, २२ चैतमा पत्रकार सम्मेलन गरी जाजरकोट प्रहरीले शाहको हत्यामा संलग्न मध्येका दुईजना अभियुक्तलाई सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा शिव भनिने ठगेन्द्रबहादुर सिंह र डिल्ली भनिने डिलबहादुर राना छन् ।
घटनाको योजनाकार समेत भनिएका ती दुबै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता रहेको र उनीहरुले अपराध स्वीकार गरेको प्रहरीले जनाएको छ ।
हत्यामा संलग्न अन्य पौरख भनिने बलबहादुर मल्ल, इतिहास भनिने प्रेम वली, मोहित सिंह भनिने ईन्द्र शाही, अभिषेक भनिने दिर्घबहादुर नेपाली र नाम खुल्न नसकेका सुर्खेत घर भएका एकजनाको खोजी भैरहेको वरिष्ठ प्रहरी उपरीक्षक महेशविक्रम शाहले जानकारी दिए ।
पक्राउ परेका र फरार रहेका सवै चन्द नेतृत्वको माओवादीका कार्यकर्ता रहेको शाहले जानकारी दिए ।
पाँचतारा युवा संरक्षक मञ्चका अध्यक्ष समेत रहेका रविन्द्र शाहसँग गत पुसमा संस्थाको खलंगा स्थित कार्यालयमै चन्दाको विषयमा चन्दका कार्यकर्ता सँग हात हालाहाल भएको, केही महिनाअघि ढिमेमा सिँचाई कुलो निर्माण ठेक्कामा बलबहादुर मल्लसँग सहमति भए अनुरुप दिनु पर्ने रु ५ लाख रुपैयाँ नदिएको लगायतका कारणले हत्याको योजना बुनेको देखिएको प्रहरीले जनाएको छ ।
एसएसपी शाहले भने, “हत्यामा संलग्न सबैलाई छिटै पक्राउ गर्छौं, अपराधी उम्किन पाउँदैनन् ।” उनले घटना चन्दा र आर्थिकलेनदेनका कारण योजनाबद्ध तरिकाले रिसिईवी साँध्न गराइएको बताए ।
गत १५ चैतमा जाजरकोटको खलंगामा ढुंगाले हानेर शाहको हत्या भएको थियो ।