मुग्लिन–नारायणगढ सडकमा माटोको ढिस्को खसेर गाडी पुरिदा एकको मृत्यु
मुग्लिन–नारायणगढ सडक खण्डको घुमाउनेमा पहाडको ढिस्को खस्दा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । घाइते दुबैलाई उपचारका लागि भरतपुर लगिएको छ । बिहान १०ः३० बजे एक्कासी पहाडको ढिस्को खस्दा एउटा ट्याङ्कर, एउटा ट्रक, एउटा मिनि ट्रक र एउटा कार पुरिएको हो ।
घटनाको जानकारी पाए लगत्तै उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले सबै सुरक्षा निकाय परिचालन गरेर घाइतेको उद्धार गर्न निर्देशन दिएका छन् । घटनालगत्तै उद्दारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थल पुगिसकेको छ ।
घाइतेको उद्धारका लागि गृहमन्त्रालयले नेपाली सेनाको हेलिकोप्टर तयारी अबस्थामा राखेको छ । बाटोमा जम्मा भएको ढुंगा पन्छाउनका लागि तनहुँबाट जेसीवी लोडर पठाइएको छ ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार भरतपुर नगरपालिका–२९ घुमाउनेमा माटोको ढिस्को खसेको हो ।