स्थानीय निर्वाचनमा एक करोड ४० लाख मतदाता
आगामी ३१ वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावली स्वीकृत गरेको छ ।
स्थानीय तह निर्वाचनका लागि एक करोड ४० लाख ५४ हजार ४८२ मतदाता कायम गरिएका छन् । ९ फागुन, २०७३ मा १८ वर्ष उमेर पुगेका र निर्वाचन कार्यालयमा नाम दर्ता गराएका व्यक्तिलाई निर्वाचन आयोगले मतदाताका रुपमा मान्यता प्रदान गरेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।
कुल मतदातामध्ये पुरुषको सङ्ख्या ७० लाख ६९ हजार ७१४ र महिला मतदाताको सङ्ख्या ६९ लाख ८४ हजार ६२५ रहेको आयोगले जनाएको छ । त्यस्तै तेस्रोलिङ्गी मतदाता सङ्ख्या १४३ जना रहेको छ ।
सबैभन्दा बढी मतदाता मोरङमा पाँच लाख ६३ हजार ८७० रहेका छन् भने मनाङमा सबैभन्दा कम पाँच हजार ९५ मात्र मतदाता कायम रहेको आयोगले जनाएको छ । मतदाता नामावली स्वीकृति भएसँगै नामावलीको छपाइ कार्य सुरु भएको आयोले जनाएको छ ।
मतदाताको नामावली आगामी १० वैशाख भित्र सबै जिल्लामा पुर्याइसक्ने आयोगले जनाएको छ । मतदाताको नामावली वेवसाइटमा राख्ने जनाएको छ ।