जाजरकोटः यातायात बन्द
जाजरकोटमा २६ फागुनमा भएको बस दुघर्टनाका घाईतेहरुको उपचारमा बेवास्ता गरिएको र मृतकका परिवारलाई उचित क्षतिपूर्ति नदिइएको भन्दै मृतक र घाईतेका आफन्तले अनिश्चितकालका लागि जिल्लाको यातायात सेवा बन्द गराएका छन् ।
२७ जनाको ज्यान जाने गएको भेरी नगरपालिका–४ बोहरामा २६ फागुनमा भएको बस दुर्घटनाका घाईतेहरुको उपचारको सम्पूर्ण खर्च सरकारले ब्यहोर्नुपर्ने र मृतकका परिवारलाई क्षतिपूर्ति दिइनुपर्नेे माग गर्दै आज, २० चैतदेखि जिल्लाको यातायात सेवा ठप्प पारिएको संघर्ष समितिले जनाएको छ ।
अहिलेसम्म २९ जना घाइते उपचारपछि घर फर्किसकेका छन् भने ६ जनाको काठमाडौं र नेपालगञ्जका अस्पतालमा उपचार भैरहेको छ ।
घाईतेको उपचारमा बेवास्ता गरिएको र उपचार खर्च समेत सरकारले उपलब्ध नगराएकाले जिल्लाबाट बाहिरिने र भित्रिने सवारी साधन सञ्चालनमा रोक लगाएको घाईतेका आफन्त दलबीर गिरीले बताए ।
मृतकका परिवारलाई रु ५ लाख दिने भनिए पनि हालसम्म रु ५० हजार मात्रै दिइएको र उपचारखर्च समेत सरकारले उपलब्ध नगराएको उनीहरुको आरोप छ ।
प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले सम्बन्धित बस ब्यवसायी संघ, स्थानीय प्रशासन र संघर्ष समितिबीच वार्ता भइरहेको र यातायात सेवा सुचारु गराउने पहल भइरहेको बताए ।
राजेन्द्र कार्की, जाजरकोट