ब्लगआइतवार, चैत्र २०, २०७३

पृथ्वीनारायणको एकता अभियानमा विभेदको हल्ला

ज्ञानमणि नेपाल

इतिहासकार हौं भन्ने नेपालीलाई नै विदेशीका लेखोट ब्रह्मवाक्यसरह लागेपछि कसको के लाग्छ र!

पृथ्वीनारायण शाहले थालेको एकीकरण अभियानमा सं. १८१९ मा लडेर पहिले जितेको राज्य आफ्नै ससुराली मकवानपुर हो। त्यसको ६ वर्षपछि स्थानीय मानिस हात लिएर विनायुद्धै केन्द्रका राज्य कान्तिपुर र ललितपुर जिते।

यस बीचमा मकवानपुरमा दिग्वन्धन सेनलाई पुनर्स्थापित गराउन आएको गुरगिनखाँ नेतृत्वको नवाफ मीरकाशिमको सैन्यदल र जयप्रकाश मल्ललाई मद्दत दिने अंग्रेज कप्तान किन्लकको सैन्यदलसँग गोरखालीले ठूलै तारतम्य मिलाई लडेर परास्त गर्नुपरेको थियो। 

पृथ्वीनारायण भक्तपुरलाई घेराबन्दीबाट थकाएरै आत्मसमर्पण गराउने पक्षमा थिए, जति समय लागे पनि। तर, तैनाथी दिएर पठाएका सेनानायककै हतारोले शहरभित्र पसेर हतियार चलाउने स्थिति आयो।

दुईतिरैबाट हतियार चल्दा स्वभावतः केही रक्तपात भयो। राजा जयप्रकाश मल्ल घाइते भएपछि आत्मसमर्पणको अवस्था आयो। त्यसबेला अन्त्यकालमा कि यतैका तीर्थस्थल कि काशीवास बस्ने चलन थियो।

मीतबाबु रणजित मल्ललाई ससम्मान काशीवास पठाइयो। पाटनका राजा तेजनरसिंह मल्ललाई चाहिं नजरबन्दमा राखियो। त्यसअघि मकवानपुरका राजा हेमकर्ण सेन स्वेच्छाले काशीवास गएका थिए।

मकवानपुर विजयपछि गोरखा राज्यको साँध पूर्वमा तराईतिर कमलानदी लागिसकेको थियो, अर्थात् गोरखाको सीमा चौदण्डी राज्यमा पुग्यो। पूर्वमा चौदण्डी र विजयपुर राज्य थिए।

विजयपुरबाटै छुट्टिएर चौदण्डी राज्य खडा भएको थियो। यी राज्यमा आन्तरिक कलह उग्ररूपले उठ्तथ्यो। चौदण्डीमा राई चौतारिया हुन्थे। शाह राजाहरू आफ्ना भाइछोरालाई चौतारिया पद दिने गरेका भए पनि चौदण्डीमा चाहिं राय वा राईलाई चौतारा वा देवान पद दिन्थे।

त्यसबेला कहिले राजघरानाका बाबुछोरा, दाजु–भाइमै कलह उठ्थ्यो, कहिले राजा, चौतारिया, देवानसँगै मारामार चल्थ्यो। त्यस्तो स्थितिमा देशका प्रजामा शान्ति–सुव्यवस्था र न्याय–निसाफ हुने कुरै भएन। थुम–थुमका गढी–गौंडामा बसेका राई सरदारहरूले परम्परागत राजश्व बुझाई जेनतेन राजकाज चलाइरहेका हुन्थे।

पृथ्वीनारायणले मकवानपुर जित्नासाथ पूर्वका सेन राज्यमाथि आँखा लगाइसकेका थिए। त्यहाँका खातापिता मानिसहरूलाई साम, दामले हात लिने काममा लागिसकेका थिए। उनले विजयपताका फहराएको ठाउँमा शान्ति सुव्यवस्थाले प्रभाव पारेका, आकर्षण बढाएका थिए।

त्यो कीर्तिगाथा सुनेका खार्पाका बिर्तावार पोख्रेलहरू करकोसेलीका साथ पृथ्वीनारायणलाई भेट्न नुवाकोट दरबारमा आइसकेका थिए। दरबारमा एउटा पोको खोलेर हेर्दा त्यसमा माटाको डल्लो थियो। पृथ्वीनारायणले गुह्य कुरा बुझिहाले। उनले महारानीलाई बोलाएर 'लौ हेर लक्ष्मी आइछन्, राम्रोसँग भँडारमा राख' भन्दै त्यो डल्लो दिए।

उता विजयपुरमा राजा कामराजदत्त सेन र उनका देवान बुद्धकर्ण राईबीच मारामार परेको थियो। त्यस्तैमा मारिएका कामराजदत्त पृथ्वीनारायणका भानिज दाजु पर्थे।

ती राज्यबाट फिरङ्गीसँग गुहार मागिंदैछ भन्ने खबर पनि उनका कानमा परिरहेको थियो। अब उनले पूर्वको विजयाभियान नचलाई नहुने स्थिति आयो। अनि सरदार अमरसिंह थापा र रामकृष्ण कुँवर नेतृत्वको सैनिकदल पूर्वतिर लाग्यो। बक्शी अभिमानसिंह बस्नेत नेतृत्वको अर्को सैन्यदल मकवानपुरको बाटो चौदण्डीतिर लाग्यो।

सरदार रामकृष्ण कुँवर र अमरसिंह थापाको नेतृत्वमा गएको सैनिकलाई स्थानीयको पूरा सहयोग थियो। खार्पाका पोख्रेलहरू हरिनन्दन–त्रिलोचनले गोरखालीहरूलाई दूधकोशी तर्न सहयोग गरे। थुम–थुमका गढी–गौंडामा बसेका राई मुखियाहरूसँग मूठभेड भयो। हलेसी, मझुवा आदि गढीमा प्रतिकार झेल्दै गोरखाली सैनिक अघि बढे। माझकिरात सर गर्दा ठूलो धनजनको क्षयव्यय भएको बुझिंदैन।

हतुवा गढी जितेर गोरखाली सरदारहरू कोशी तरेर चौदण्डीको राजधानी नउक्लँदै त्यहाँका राजा र चौतारिया भागेर विजयपुर पुगे। त्यहाँको एउटा कथा सुनिन्छ। दरबारको सुनचाँदी, नगद आदि फलामको बाकसमा हालेर तल कोशीको घुमाउने दहमा राखियो, पछि फर्केर आउँदा काम लाग्छ भनेर। परन्तु कर्ण सेनलाई देवान बुद्धिकर्णले विजयपुरमै राजा थापे। चौतारिया भगलपुरतिर गई बसे।

चौदण्डी विजय गरेको अर्को साल पहाडतिरबाट पसेको गोरखाली सैनिक दलले चैनपुर सजिलै सर गर्‍यो। अभिमानसिंहको दल कोशी तरेर विजयपुरतिर लाग्नासाथ राजा कर्ण सेन र देवान बुद्धिकर्ण राई भागिहाले।

नेतृत्वविहीन बनेका विजयपुरका केही सैनिकले प्रतिकार गर्न खोजे पनि त्यसले केही अर्थ राखेन। दश लिम्बूगनका सुब्बाहरूले पृथ्वीनारायण शाहको लालमोहर पाएपछि सेन मकवानको रीतिथिति यथावत् रहनेभयो। सबै सुब्बा राजीखुशी मिल्न आइहाले।

त्यसरी पूर्वका दुई सेन राज्य समेत सम्मिलित हुँदा सात राज्य मिलेर एक नेपाल राज्य बन्यो। एकीकरणको यति काम गरेपछि पृथ्वीनारायण संसारबाट सदाका लागि विदा भए।

नेपाल एकीकरण अभियान मन नपराएका विदेशी शक्तिका सत्रीहरूले पृथ्वीनारायणका दोष उधिनी–उधिनी तिलको पहाड बनाएर व्यापक दुष्प्रचार गरे।

जस्तो, प्राकृतिक रूपकै विकट किल्लाले जितिनसक्नु बनाएको कीर्तिपुरलाई पृथ्वीनारायणले आफ्नो नीति अनुसार घेराबन्दी गरेरै आत्मसमर्पण गराएका थिए।

बोलाएरै लगेका केही गोरखाली सैनिकलाई सुतेको बेला हूल उठेर कीर्तिपुरका केही हुल्याले नोल र फलेकले ठोकी–ठोकी मारे। पछि तिनीहरू पक्राउ परे। ज्यानको बदला ज्यानै नलिइकन तिनको नाकको टोप्रोसम्म काट्ने आदेश भयो। नाक काटिने धेरै पनि थिएनन्।

त्यतिबेलाका ललितावल्लभले 'काँश्चन विरुपिणः' मा केही व्यक्तिलाई विरुप बनाए भनी लेखेका छन्। धेरैका काटेको भए उनले बहून् लेख्थे भने सबैको काटेको भए सर्वान्।

बाबुराम आचार्यले नाक काटिने धेरै भए ८–१० जना होलान् भनेका छन्। भयो के भने, तीन शहर नेपाल सर भएपछि पृथ्वीनारायणले साधुको भेषमा राजनीति गर्ने धर्मध्वजी भनेर ६० जना जति क्रिश्चियन पादरीहरूलाई निकालिदिए, ती गएर बेतियामा बसे।

तीमध्ये पादरी जिसेप्पीले पृथ्वीनारायण बर्बर शासक हुन्, सयौं कीर्तिपुरेका नाक काटिए भनेर बढाइचढाइँ लेखेर बेलायतबाट प्रकाशित हुने जर्नलमा छापे, जुन विश्वव्यापी भयो।

अजेय बनेर अगाडि बढेको ब्रिटिश शक्तिलाई परास्त पारेर खेद्ने, क्रिश्चियनहरूलाई निकाल्ने, कोठी खोल्न त परै जाओस् फिरङ्गीलाई पस्नै नदिने पृथ्वीनारायण वापवैरी हुने नै भए। यस कारण अंग्रेजहरूले बाल, वृद्ध सबैका नाक काटेको भनेर कीर्तिपुरलाई नकटापुरै बनाए।

नेपाल–अंग्रेजयुद्ध पछि स्थानीय रूपले काठमाडौं बस्न पाएका रेजिडेन्ट ब्रेन हड्सनले यसलाई यति बढाए कि १७ धार्नी थिए भनेर वंशावलीमा नै लेखाए। नेपालीहरू पनि बढाएर भन्ने–लेख्ने बानी परेकै थिए।

यहाँबाट निकालिएर दोर्जेलिङ्ग बसेका ब्रेन हड्सनलाई भेटेर पृथ्वीनारायणका अर्घेल्यार्इं उधिन्दै बढाएर लेखाउन छाडेनन्। पृथ्वीनारायणको विजयको धेरै दुष्प्रचार गराए। ३५ हजार किरात मारे, बालबच्चालाई पनि ढिकीमा कुच्चाएर मारे भन्नेसम्मका दस्तावेज लेखाएर बेलायत पुर्‍याए।

अहिले हड्सन कलेक्सनका नामले सो संग्रह त्यहाँ सुरक्षित छ। इमानसिं चेन्जोङले 'हेर, यस्तो दुष्प्रचार गरेका पर्चा पनि लगेर अंग्रेजले सुरक्षित राखेका छन्' भन्दै त्यसलाई महत्व नदिंदै धनबज्रलाई देखाएका थिए।

पछि त्यही पर्चा पाएर रमेश ढुंगेल र वैरागी काइँलाले अनुवाद, व्याख्यासहित पत्र–पत्रिकामा व्यापक प्रचार गरे। यस्ता उद्वेजक कथा–किंवदन्तीका श्रृंखला स्वदेशी–विदेशी सबैले पहिल्यैबाट चलाउँदै आएका हुन्!


पृथ्वीनारायणको राईलिम्बु हात लिने बेहोरा

स्वस्तीश्रीगीरिराजचक्रचुडामणिनरनारायणेत्यादीविविधविरुदाबलिवि–

राजमान–मानोन्नत

श्रीमन्ममाराजाधिराजश्रीश्रीश्रीमहाराजपृथ्वीनारायणीसाहबहादुरशम्शेरजङ्ग–

देवानाम् समरविजयिनान् ....

स्वस्ती राजभारासामर्थ श्रीश्रीसुनराई श्रीकुश राई श्रीजङ्गराई गैह्र लिम्बुराइके आशिकपूर्वक पत्र मिदम्, यहा कुसल ताहा कुसल चाहिये, आगे यहा मेरो धर्म समाचार भलो छ, उप्रान्त तिमीहरूलाई हिज पनि पिछा बक्सेको हो, त्यो तिम्रा लिम्बुवान मुलुक हाम्रो प्रतापले तिम्रा पुर्खा तूतू तुम्याहांगको प्रताप हार्‍यो र याहा श्रीजङ्गसन्तान लिम्बुवान खम्बुवान मुलुक हाम्रो भयो तापनि तिमीहरू हाम्रै छौ, तिम्रा जहानको पिछा हामीले लियौं जस जसको जे जे तम्रा खाइन् पाइन लुङवांडा वांगसिंग वांगगङ जिमी भूमि हिजको आपुंगी सबै थामी बक्स्यौं तिमीहरूले हिज आफैआप आपुगी पाएबमोजिम जिमी भूमी रहन्जेल साखासन्तान मदत सघाई भोग्य गर, अरु नौलाख रायेपटि तिमीहरू हौन, के अर्थले भने अरु राजालाई मासिने हुँदा तिमीहरू राजानै भन्ने नमासिने हौ, यो तिम्रा निंती हामीले जानेको छ तर कुराको विस्तार सबै तिम्रा नाभिमा बसेकाले तिनले नास्यो।

सुखिमको र हाम्रो घर नभएको हाम्रो भला मानिस र हाम्रो चौधरीले बोल कुरा गरी गएको छ, उनैबाट विस्तार कुरा बुझौला भोली र तिमीहरूको आपुंगी खाइन पाइन त्यो मुलुक जिमी भूमि जिती हामीले खोसी मासे हामीले पूजी ल्याएको देवताले हाम्रो राजकाज नासोस्, भन्ने बाचाको तसली मोहर बाधिदियौं, इति सम्बत् १८३१ साल मिति श्रावण सुदि १ रोज २ मुकाम कांतिपुरं राजधानी शुभम्।
('नेपाल–सुखीम सम्बन्ध' बाट)

प्रतिकृया दिनुहोस