सिन्डिकेटको बलमा दोब्बर भाडा असुली
यातायात समितिले कानुन विपरीत निर्णय गरेरै यात्रुसँग झण्डै दोब्बर भाडा असुल्दै आएको खुलेको छ । काठमाडौंबाट सिन्धुली हुँदै बर्दीवास, जनकपुर, काँकडभिट्टा, हिले, धनकुटा, राजविराज लगायतका क्षेत्रमा जाने यात्रुसँग सिन्डिकेटवालाले यातायात व्यवस्था विभागले निर्धारण गरेको भन्दा बढी भाडा असुली गरेको तथ्य फेला परेको छ ।
काठमाडौं बीपी पूर्वाञ्चल यातायात समन्वय प्रालिले काठमाडौंबाट सिन्धुली, बर्दिवासहुँदै पूर्वका विभिन्न २० स्थानमा आउजाउ गर्ने यात्रुबाट सरकारले निर्धारण गरेको भन्दा झण्डै दोब्बर भाडा असुलिरहेको छ । यातायात व्यवस्था विभागले काठमाडौं–सिन्धुली–बर्दिवास– काँकडभिट्टाको भाडा रु.९७४ निर्धारण गरेको छ, तर प्रालिले १५०० असुलिरहेको छ । काठमाडौं–सिन्धुली हुँदै विराटनगरसम्मको भाडा रु.८५६ हो तर प्रालिले १३५० लिइरहेको छ ।
५ भदौमा काठमाडौंबाट मोरङको उर्लावारी गएकी धनमाया कट्टेलसँग गाडीवालाले रु. १३ सय लिए । (हे. टिकट) जबकी विभागले उर्लाबारी भन्दा केही किलोमिटर टाढा मधुमल्लासम्मकै भाडा जम्मा रु. ८४१ निर्धारण गरेको छ ।
सिन्डिकेटको निर्लज्जता यतिमै सीमित छैन, सरकारी दरको भाडा लिने यातायात व्यवसायीलाई रु.५ हजार १०० जरिवाना गर्ने ‘नियम’ लागू गरेको छ । गत ४ साउनमा बसेको नेपाल दिवा तथा रात्रि बस टिकट बुकिङ सञ्चालक मजदूर संघको बैठकको निर्णयमा भनिएको छ– ‘...काठमाडौं बीपी पूर्वाञ्चल यातायात समन्वय समितिमा आवद्ध संस्थाहरूका प्रतिनिधि बसी भाडादरमा एकरूपता कायम गरी १० साउन २०७३ बाट काट्ने र कुनै संस्थाले कम दरमा टिकट काटेको भेटिएमा त्यस संघको सम्बन्धित प्रतिनिधिले यो समितिलाई जरिवाना स्वरुप रु.५ हजार १०० बुझाउनुपर्ने भनी सर्वसम्मतबाट पारित गरियो ।’
यातायात क्षेत्रको सिन्डिकेट कतिसम्म जब्बर रहेछ भन्ने यसले देखाउँछ । किनभने यातायात व्यवसायीले कानुन विपरीत भाडा निर्धारणसँगै दण्ड जरिवानासम्म तोक्ने हिम्मत गरेका छन् । कानुन अनुसार भाडा लिने विरुद्ध उनीहरुले यस्तो निर्णय गरेका हुन ।
संविधानलाई कुल्चेर सिन्डिकेटले गरेको निर्णय
यातायात व्यवस्था विभागले निर्धारण गरेको भाडा दर
सिन्डिकेटवालाले असुलीरहेको रकम