धुर्मुस–सुन्तलीलाई उत्कृष्ट नागरिक सम्मान
वीरता जेसीजले सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)लाई २०७३ सालको उत्कृष्ट नागरिक सम्मान प्रदान गर्ने भएको छ ।
भूकम्पपीडितको घर निर्माण अभियानमा योगदान गरेबापत धुर्मुस– सुन्तलीलाई सम्मान गर्न लागिएको हो ।
अगामी ३ वैशाखमा विशेष कार्यक्रमकाबीच दुवैजनालाई नागरिक सम्मानका साथै नगद रु १० लाख प्रदान गर्न लागिएको समारोह समितिका संयोजक विनोद बस्नेतले जानकारी दिए ।
वीरता जेसीजको अगुवाइमा बर्सेनि एक झापाली नागरिकलाई उत्कृष्ट घोषित गर्दै सम्मान गर्दै आएको संस्थाका अध्यक्ष सञ्जु भारतीले बताए । सन् १९८१ मा स्थापित वीरता जेसीजले २०५२ सालबाट उत्कृष्ट नागरिक सम्मानको परम्परा शुरु गरेको हो ।
“समाज परिवर्तनका लागि विशेष योगदान पुर्याउने व्यक्तिको छनोट गरी सम्मान गर्दै आएका छौँ,”वीरता जेसीजका अध्यक्ष भारतीले भने । रासस