रिपोर्टशनिवार, चैत्र १९, २०७३

खै नयाँ नाटककार?

बच्चु विक

नाटकघर र रङ्गकर्मीको बढ्दो उपस्थितिसँगै लोभलाग्दो दर्शक साथ पाएको नेपाली रङ्गमञ्च विदेशी कथामा निर्भर छ।

माधवी नाटकमा अर्चना पन्थी र घिमिरे युवराज।

चैत २०७२ मा शेक्सपियरको ह्याम्लेट मञ्चनसँगै बन्द भएको लाजिम्पाटस्थित थिएटर भिलेजमा प्रदर्शित सर्वाधिक चर्चित नाटक हो, कोर्टमार्सल।

अनुप बराल निर्देशित कोर्टमार्सल ले नाटकका नयाँ दर्शक पाउनुका साथै राम्रो आम्दानी समेत गरेको थियो। तीन वर्षअघि मञ्चन गरिएको यो नाटकका लेखक भारतीय नाटककार दीपक स्वदेश थिए, जसलाई निर्देशक बराल र प्रकाश घिमिरेले भाषान्तर गरेका थिए। 

कालिकास्थानस्थित सर्वनाम थिएटरमा यस वर्ष चर्चा पाएको नाटक हो, सिंढी। सर्वनाम समूहले नेपालीमा अनुवाद गरेको यो नाटकका नाटककार भारतका सुबोध पटनायक हुन्।

यस्तै, शिल्पी थिएटरमा यसै वर्ष प्रस्तुत 'माधवी' दर्शकको वाह्वाही पाउने अर्को नाटक बन्यो। टंक चौलागाईले निर्देशन गरेको यो नाटक भारतीय लेखक भीष्म साहनीको चर्चित नाटक 'माधवी'मा आधारित थियो। चौलागाई स्वयंले नाटकलाई नेपालीमा रुपान्तर गरेका थिए।

मण्डला थिएटरमा हालै मात्र प्रदर्शित १२ दुर्वासा को चर्चा अहिले पनि सेलाएको छैन। समीक्षक र दर्शकबाट प्रशंसा पाएको यो नाटक अमेरिकी साहित्यकार रेनाल्ड रोजको टुवेल्भ एंग्री मेन को नेपाली अनुवाद हो। अनुवादक हुन्, सुरेश सापकोटा।

'निर्देशक नेपाली, कथाकार विदेशी', पछिल्लो केही वर्षयता नेपाली नाटकको यथार्थ यही हो। कोर्टमार्सल, सिंढी, माधवी र १२ दुवार्सा यो तर्क पुष्टि गर्न पर्याप्त छन्। अर्थात् नेपाली रङ्गकर्म विदेशी लेखकमा निर्भर छ। नाटकघर, नाटक, रङ्गकर्मीसँगै दर्शक पनि पाउन थालेको नेपाली रङ्गमञ्चको संकट भनेको नयाँ पुस्ताका नाटककार नहुनु नै देखिएको छ।

“सिर्जनाका अन्य विधाभन्दा नाटक लेखन गाह्रो काम हो”, तैपनि नयाँ पुस्ता नदेखिनुले केही मिलिरहेको छैन जस्तो लाग्दोरहेछ”, २०३८ सालमै देउरालीमा एक थुङ्गा फूल नाटक लेखेर चर्चा कमाएकी नाटककार शारदा सुब्बा भन्छिन्।

पुरानोकै भर
राजधानीमा चलिरहेका सर्वनाम थिएटर, शिल्पी थिएटर, मण्डला थिएटर र थिएटर मलले यो वर्ष कुल ३४ वटा नाटक देखाए। जसमा धेरै चल्ने र चर्चा पाउने अधिकांश नाटकका लेखक विदेशी नै थिए। भएका स्वदेशी नाटककारमा पनि धेरै नयाँ थिएनन्।

सर्वनाममा भारतीय लेखक पटनायकको सिंढी र अशेष मल्लको विश्राम देही, शिल्पीमा अठारौं शताब्दीका इटालियन नाटककार कार्लो गोल्डोनीको द मिस्ट्रेस अफ द इन को नेपाली अनुवाद पाहुना घरकी साहुनी, भारतीय लेखक भीष्म साहनीको माधवी, अभि सुवेदीको चिरिएका साँझ, सरुभक्तको भृकुटी ले चर्चा बटुले। 

कोर्टमार्सल नाटकमा राजेश हमाललगायत।

त्यस्तै मण्डला थिएटरमा रेनाल्ड रोजको टुवेल्भ एंग्री मेन को अनुवाद १२ दुर्वासा, इटालियन लेखक लियोनी लिखित फ्रेडरिक को अनुवाद मनचिन्ते फिरन्ते, भारतीय लेखक धर्मवीर भारतीको अन्धा युग को अनुवाद अन्धोयुग, शंकर लामिछानेको कथाको नाट्यरुपान्तरण ऊ कसको, सरुभक्तको इदमित्थम् र ज्यानमाया ले दर्शकलाई नाट्यशालासम्म डोर्‍याए।

थिएटर मलमा विजय मल्लको बहुला काजीको सपना, गोविन्द मल्ल गोठालेको भोको घर, अभि सुवेदीको यो कुनै बास हो एक नाटक मञ्चन गरिए। थिएटर मलका कला निर्देशक एवं नाटककार केदार श्रेष्ठ नाटकलेखनमा नयाँ पुस्ता नआउँदा आफूजस्ता निर्देशकलाई नाटक लेख्ने बाध्यता आइपरेको बताउँछन्।

रङ्गकर्मी एवं अनुसन्धाता कृष्ण शाह यात्री कला, साहित्य, संगीतका अन्य विधामा जसरी नाटक लेखनमा नयाँ पुस्ता अपेक्षा अनुसार नदेखिएको स्वीकार्छन्। “रङ्गमञ्चमा राज्यले केही लगानी गरेकै छैन, अनि कहाँबाट आउँछ त नयाँ पुस्ता?” उनी प्रश्न गर्छन्।

खस्किंदो प्रभाव
पूर्वीय नाट्यसिद्धान्तका सूत्रधार मानिने भरतमुनिदेखि नाटकको शुरुआत भए पनि नेपाली रङ्गमञ्चका लागि भने लिच्छिविकाल आधार मानिन्छ। पहलमानसिंह स्वाँरले १९६२ सालमा लेखेको अटलबहादुर नाटकबाट नेपाली नाटक लेखन यात्राको शुरुआत भएको अभिलेख छ।

त्यसयता बालकृष्ण समको मुटुको व्यथा (१९८६), मुकुन्द इन्दिरा (१९९५), भीमनिधि तिवारीको सहनशीला सुशीला (१९९७), विजय मल्लको राधा मान्दिन (२००१), बौलाहा काजीको सपना (२००४) हुँदै रङ्गमञ्च हुर्किंदै आयो।

त्यसपछि हरिप्रसाद रिमाल, प्रचण्ड मल्ल, अशेष मल्ल, सरुभक्त हुँदै राजधानी र मोफसलमा पनि नाटक लेखन र मञ्चन हुँदै आएको छ।

नाट्यशाला निर्माणसँगै नाटकमा नयाँ प्रविधिको प्रयोग हुन थालेको छ। नाटक हेर्नेहरूको घुइँचो लाग्न थालेको छ। कतिपय नाटक महीनौं चल्न थालेका छन्।

“नाटक रुपान्तरण भएको छ”, २०४४ मा अनाम नाट्य जमातको स्थापना गरेर निर्देशन थालेका नवीन सुब्बा भन्छन्। धरानमा पहिलो नाटक म, प्रियसी, नानीहरू 177 मिसाइल = ० नाटक अनामसँगै चर्चामा आएका सुब्बा पछिल्लो समय रङ्गमञ्च प्रभावशाली नदेखिएको बताउँछन्।

“केही वर्षयता स्थिर छ, एउटै किसिमका र बजार हेरेर नाटक मञ्चन भइरहेका छन्” उनी भन्छन्, “समाजलाई प्रभावित गर्ने नाटक आउन सकेका छैनन्।”

अनुसन्धाता शाह पनि समाजलाई बहस छेड्नसक्ने क्षमताका नाटक नआएको बताउँछन्। “दीर्घकालीन प्रभाव पार्ने, जागरण ल्याउने किसिमले नाटक आएका छैनन्”, शाह भन्छन्। छलफल गर्ने परम्परा नहुनु, राज्यबाट भरथेग नहुनेले अपेक्षाकृत रङ्गमञ्चले गति नलिएको उनको ठहर छ।

पहिलेपहिले दिनभर फिल्म हल बाहिर उभिएर नाटकको टिकट बेच्नुपर्ने, दर्शक नै नआइदिने अवस्थाबाट नाटकले छलाङ मारेकोमा शारदा सुब्बा पनि सहमत छिन्। “नाटक र दर्शकसंख्या सँगै प्रभाव नबढेकोमा भने चिन्ता लाग्छ”, उनी भन्छिन्।

शुभ संकेत
नाटक लेखनमा नयाँ पुस्ताको बलियो हस्तक्षेप नभए पनि केही युवाले यसको प्रयास भने गरिरहेका छन्। कोही आफैं लेखिरहेका छन् त केही भाषान्तरमा सक्रिय छन्।

तीमध्ये कृष्ण शाह यात्रीसँगै आशान्त शर्मा, टंक चौलागाई, सरिता साह, पुरु लम्साल, राज शाह, केदार श्रेष्ठ, सुलक्षण भारती, सौरभ कार्की, नानी थापा, सोमनाथ खनाल, चन्द्रप्रसाद पाण्डे, सिजन दाहाल प्रतिनिधि पात्र हुन्।

निजी क्षेत्रबाट भइरहेका प्रयासले रङ्गमञ्चलाई गतिशील बनाउँदै लगेको छ। राष्ट्रिय नाचघरमा वर्षमा एक पटक हुने नाटक मञ्चनलाई निजी क्षेत्रबाट वर्षभरि नै नाटक मञ्चन हुने अवस्थासम्म पुर्‍याएको छ।

नाटककार एवं अनुसन्धाता शाह विद्यालय तहदेखि नै नाटकलाई समेटिनुपर्ने बताउँछन्। उनी भन्छन्, “राज्यले राम्रा प्रतिभालाई रङ्गमञ्चसम्बन्धी कार्यशाला, अध्ययन, अध्यापनमा सहयोगी भूमिका खेल्नुपर्छ।”

निर्देशक नवीन सुब्बा अल्मलिइरहेको रङ्गमञ्चलाई दिशा दिनुपर्ने बताउँछन्। त्यसका लागि पर्याप्त 'एक्सपोजर' दिइनुपर्ने उनको भनाइ छ। “नाटकले पनि जोखिम मोल्नुपर्छ, बजार मात्रै हेरेर हुँदैन। समाजमा बहस सृजना गर्ने विषयवस्तु दिनुपर्छ”, उनी भन्छन्।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति एवं नाटककार सरुभक्त पनि सोचे अनुसार रङ्गमञ्चको विकास हुन नसकेको स्वीकार्छन्। चाहेर पनि काम गर्न नसकिएको बताउँदै उनी भन्छन्, “योजना बनाउँछौं, बजेट हुँदैन।

मन्त्री, प्रधानमन्त्रीलाई गुहार्दा पनि प्राथमिकतामा पर्दैन।” सबै मिलेर रङ्गमञ्चलाई गति दिन सकिने बताउँदै उनी भन्छन्, “राजधानीसँगै मोफसलमा पनि नाट्यशालाहरू खुल्दैछन्, नाट्य गतिविधि हुँदैछन्। दर्शक बढेका छन्, यो शुभ संकेत हो।”

प्रतिकृया दिनुहोस