पाकिस्तानः आत्मघाती विष्फोटमा २२ को मृत्यु, ७० घाइते
पाकिस्तानको उत्तरपश्चिमी शहर पाराचिनारमा भएको आत्मघाती विष्फोटमा परि कम्तीमा २२ जनाको मृत्यु भएको छ ।
अफगानिस्तानसँग सीमा जोडिएको पाराचिनार स्थित एक मस्जिदमा आज शुक्रबार प्रार्थनाको बेला हुँदै गर्दा महिला प्रवेशद्वारा नजिकैको बजारमा विष्फोट भएको हो ।
घटनामा कम्तीमा २२ जनाको मृत्यु भएको र ७० जना घाइते भएको पाकिस्तानी पत्रिका 'डन' को अनलाईन संस्करणले जनाएको छ । आत्मघाती विष्फोट लगत्तै गोली प्रहार समेत भएको समाचार संस्था रोयर्टसले स्थानीय सांसदलाई उद्धृत गर्दै जनाएको छ ।
गत महिनामात्रै दक्षिणी पाकिस्तानको एक सुफी धार्मिक स्थलमा भएको आक्रमणमा ८० जना मारिएका थिए जसको जिम्मेवारी आतंकवादी संगठन स्लामिक स्टेटले लिएको थियो ।
पाराचिनारकै तरकारी बजारमा गत पुस महिनामा भएको विष्फोटमा २१ जनाको ज्यान गएको थियो ।
प्रधानमन्त्री नवाज शरिफले पाकिस्तानमा सुरक्षा व्यवस्था बलियो हुँदै गएको बताइरहेका बेला भएको विष्फोटले उनीमाथि चुनौती थपिदिएको छ । शरिफले घटनाको निन्दा गर्दै आतंकवादका सबै अवयवलाई पाकिस्तानबाट निमिट्यान्न पारिने दाबी गरेका छन् ।