रिपोर्टबिहिवार, चैत्र १७, २०७३

राजवंशीमा रक्तअल्पता

हिमालखबर

शरीरलाई रक्तअल्पताले खाइरहेको बारे झापाका राजवंशी समुदायलाई थाहै छैन।

गोपाल गड्तौला, झापा
झापास्थित भद्रपुरका आधा राजवंशी समुदायमा रक्तअल्पता (शरीरमा रगतको कमी) को समस्या देखिएको छ। नगर क्षेत्रका ११० जना राजवंशीमा गरेको रक्त परीक्षणमा ५६ जनामा रक्तअल्पता पाइएको हो।

सिंहबहादुर राजवंशीको परिवार। दायाँबाट बाबु देवान पहिलो, सिंहबहादुर तेस्रो, गोलवती पाँचौं र टेकनारायण छैटौं। तस्वीरहरुः गोपाल गड्तौला

शरीरमा हेमोग्लोविनको मात्रा कम भएको अवस्थालाई रक्तअल्पता भनिन्छ। रक्तकोषमा पाइने तत्व हेमोग्लोविनले रगतमा अक्सिजन प्रवाह गर्ने काम गर्छ। चिकित्सकका अनुसार रगतमा हेमोग्लोविन कम हुँदा अक्सिजनको मात्रा स्वतः कम हुने भएकाले विभिन्न समस्या र रोग देखापर्छ।

मेची क्याम्पस प्राणीशास्त्रकी सहप्राध्यापक गीता श्रेष्ठले हालै गरेको अनुसन्धानबाट यस्तो तथ्य पत्ता लागेको हो। 'पूर्वी नेपालका कोच राजवंशी र थारू समुदायमा बिटा थालसेमिया रोग र उनीहरूको जिनको अवस्था' विषयको विद्यावारिधि शोधका क्रममा उनी राजवंशी बस्ती पुगेकी थिइन्।

“माघमा संकलित रगत परीक्षणका लागि टेकूस्थित केन्द्रीय प्रयोगशाला पठाएकी थिएँ, भर्खरै यस्तो रिपोर्ट आएको हो” उनी भन्छिन्, “तर, उनीहरूमध्ये धेरैलाई रक्तअल्पता बारे जानकारी नै थिएन।” 

शोधका क्रममा श्रेष्ठले आउँदो एक वर्षभित्रमा १ हजार ९० जना थारू र राजवंशीको रगतको नमूना संकलन गर्नुपर्नेछ। “त्यसपछि मात्र विस्तृत प्रतिवेदन बाहिर आउनेछ”, उनी भन्छिन्।

भारतको पश्चिम बंगालस्थित उत्तरबंगाल मेडिकल कलेजबाट स्नातकोत्तरका क्रममा 'मानव कोषमा वंशाणुगत चरित्र' विषयमा शोध गरेकी श्रेष्ठले गत वर्षदेखि विद्यावारिधि शोध थालेकी थिइन्।

रगतको नमूना परीक्षणबारे घरघरमा पुगेर जानकारी दिंदै सहप्राध्यापक गीता श्रेष्ठ।

भारतको आसाम, कुचबिहारलगायतका क्षेत्रका बंगालीहरूमा पनि रक्तअल्पता देखिएकाले नेपालका कोच समुदायमा पनि यसको प्रभावबारे थाहा पाउने उनको अध्ययनको उद्देश्य हो।

लामो समयदेखि झापा, मोरङ र सुनसरीमा बस्दै आएको राजवंशी समुदायको कुल जनसंख्या १ लाख १५ हजार छ।

 

अधिकांश राजवंशी समुदायमा हेमोग्लोविन ई (एचबीई) वंशाणु पाइने गरेको छ। यो वंशाणु भएका मानिसको रगतमा रातो रक्तकोषको उत्पादन कम हुने भएकोले मलेरिया संक्रमणको सम्भावना पनि न्यून हुनेगर्छ।

किनभने, मलेरियाको प्यारासाइट (संक्रामक) रातो रक्तकोषमा मात्र गुणात्मक रूपमा वृद्धि हुन्छ। तर, रातो रक्तकोषको कमी भएका मानिसमा हड्डी खिइने, जण्डिस, मौसमी बिरामी र छिट्टै गल्नेलगायतका समस्या देखापर्छन्। 

श्रेष्ठले रगत परीक्षण गराएका सिंहबहादुर राजवंशी (४५) को ६ जनाको परिवारमध्ये पछिल्लो तीन वर्षभित्र मात्र चार जनामा जण्डिस देखिएको थियो।

उनका छिमेकी सितलाल राजवंशी (५१) र छोरी निलम (२२) पनि जण्डिसको उपचार गराइरहेका छन्। छोरी फूलमती (२९) लाई त तीनपटकसम्म जण्डिस भइसकेको सितलाल बताउँछन्।

“एचबीई वंशाणुगत अवस्था भएकाले चेतना नै मुख्य उपचार हो”, श्रेष्ठ भन्छिन्। वंशाणु परिवर्तन गर्न सकिन्न, त्यसैले असर कम गर्नेतर्फ ध्यान दिनुपर्छ। यसका लागि सागपात, दाल, गेडागुडी, फलफूल टुटाउनु नहुने उनको सुझाव छ।

 

प्रतिकृया दिनुहोस