रियो ओलम्पिक: अर्थ र विज्ञानको खेल
प्रमाणित भइसकेको छ, जुन देश अर्थतन्त्र र वैज्ञानिक अनुसन्धानमा अब्बल छन्, ओलम्पिकमा उनीहरुकै राज चल्छ।
३१औं ग्रीष्मकालीन ओलम्पिकका कारण यताका तीनसाता सिंगो विश्व खेलकुदमय बनेको छ। ब्राजिलमा भइरहेको यो प्रतियोगिता इतिहासमै पहिलो पटक कुनै दक्षिण अमेरिकी राष्ट्रमा आयोजना गरिएको हो। २८ वटा खेलका ३०० भन्दा बढी प्रकारका प्रतिस्पर्धामा विश्वभरका करीब ११ हजार खेलाडी सहभागी छन्। ओलम्पिकलाई खेलको महाकुम्भ पनि भनिन्छ।
ओलम्पिक होस् वा कुनै अन्तर्राष्ट्रिय खेल प्रतियोगिता; तीन विषय सबैभन्दा प्रभावशाली हुने गर्छन्– रसायन शास्त्र, अर्थशास्त्र र भौतिक शास्त्र। हुनत खेलमा नवीनतम प्रविधिको भूमिका पनि अहम् हुन्छ। तर, प्रविधिको जन्म नै यी तीन शास्त्रबाट मात्र सम्भव छ। त्यसैले प्रविधि बेग्लै, एक्लै हुनै सक्तैन।
सबैभन्दा पहिले रसायन शास्त्रको भूमिका औंल्याऊँ– रसायन शास्त्र मुख्यतः खराब कारणका निम्ति प्रभावी देखिन्छ। खेलाडी वा खेलमा प्रयोग हुने जनावर (जस्तैः घोडा, कुकुर) को क्षमता वृद्धि गर्न औषधिका रुपमा विभिन्न किसिमका रसायन खुवाइन्छ। नियामक निकायहरूले वर्जित गरेका त्यस्ता रसायनको प्रयोग गर्नुलाई नै डोपिङ भनिन्छ। यसपटकको ओलम्पिक पनि यसका अघिल्ला अध्यायहरू जस्तै डोपिङ काण्डबाटै शुरू भयो। धेरै खेलाडी प्रतिस्पर्धाअघि नै निलम्बित वा प्रतिबन्धित भए।
स्वाभाविक हो, ओलम्पिकमा कुनै देशको प्रभुत्व रहने भन्ने कुरा, प्राप्त पदकमा आधारित हुन्छ। तर, लगभग समान जनसंख्या भएको चीन र भारत वा नेपाल र अस्ट्रेलिया बीच पदक तालिका दाँज्ने हो भने छर्लङ्ग हुन्छ, जनसंख्या र भूगोलले होइन, त्यस मुलुकको सम्पन्नता अर्थात् बलियो अर्थतन्त्रले पदकको मात्रा निर्धारण गर्छ। जस्तो कि, अमेरिकाका पौडीबाज माइकल फ्लेप्सले ओलम्पिकमा हालसम्म जितेका स्वर्ण पदकहरू हिसाब गर्ने हो भने त्यो सिंगो भारतले आजसम्म जितेका सबै पदकभन्दा बढी छ। आर्थिक क्रान्तिपछिको चीनले सन् २००८ मा आफ्नै भूमिमा भएको ओलम्पिकमा त शीर्ष स्थान नै हासिल गर्यो। पदक तालिकामा शीर्ष दश स्थानमा रहने देशहरूको खेलकुद बजेट हाम्रो देशको पूर्ण बजेट भन्दा धेरै गुणा बढी हुनु कुनै आश्चर्य होइन।
खेलमा वर्चस्व कायम गर्न खेलाडीको लगाव, फिटनेस, मिहिनेत, अनुशासन र देशको खेल माहोल मात्र पर्याप्त हुँदैन। प्रतिस्पर्धा यति तीव्र हुन्छ कि हार्ने र जित्नेबीच क्षमता लगभग उस्तै हुन्छ। त्यसैले रणनीतिदेखि पोशाकसम्मले खेलको नतीजा निर्धारण गर्छ। यहींनेर भौतिकशास्त्रको महत्व झल्कन्छ। विश्वका धेरै देशमा खेल विज्ञान विषयकै रुपमा पढाइ हुन्छ, जसमा भौतिक शास्त्रका सिद्धान्तहरूको प्रयोग गरी कसरी मैदानमा आफूलाई श्रेष्ठ सावित गर्न सकिन्छ भन्नेमा केन्द्रित हुन्छ।
पौडीबाजको लुगा अर्थात् स्वीमिङ कस्टुम यसको गतिलो उदाहरण हो। पानीमा पौड्दा खेलाडीको जीउको बनोट, जीउ र पानी बीचको घर्षण, पानी चिरेर अघि बढ्दा झ्ोल्नुपर्ने अवरोधको बल आदिको भूमिका ठूलो हुन्छ। हामीले थाहा पाएको सबैभन्दा उत्तम तैराक माछा हो। त्यसैले पौडीबाजले माछाजस्तै आवरणमा पौड्न टाउकोमा टोपीदेखि चिल्लो, हल्का तर बाक्लो स्वीमिङ्ग कस्टुम लगाउने गर्छन्। माछा आकारले वस्तुलाई 'स्ट्रिमलाइन फ्लो' दिन्छ, जसका कारण पानी चिरेर अघि बढ्न कम बल लाग्छ। कार, हवाईजहाजदेखि तीव्र गतिका ट्रेनहरूको अघिल्तिर चुच्चो हुनुको वैज्ञानिक कारण पनि यही हो।
ओलम्पिक इतिहासमा भौतिकशास्त्रको प्रयोगको रोमाञ्चक प्रसङ्ग नै छ। डिक् फोस्बरी भन्ने औसत अमेरिकी खेलाडीले सन् १९६८ मा हाइजम्पमा एउटा नयाँ प्रयोग गरी स्वर्णपदक जिते। हाइजम्प गर्ने उनको तरीका नै फरक थियो, उनी छातीलाई डन्डीतिर होइन, ढाडलाई डन्डीतिर फर्काएर डन्डी नाघ्थे। यसो गर्दा शरीरको गुरुत्वाकर्षणको केन्द्र वा कुल भार डन्डीभन्दा २० सेन्टीमिटर तलै रहँदै पनि डन्डी नाघ्न सकिन्थ्यो। यसो गर्दा फोस्बरीले पूरै शरीर डन्डीको उँचाइसम्म पुर्याउन थप बल खर्चनु परेन र उति नै बल प्रयोग गरी प्रचलनभन्दा धेरै उँचाइको डन्डी नाघ्न सके। यसको प्रयोग रातारात यसरी विश्वव्यापी भयो कि त्यस लगत्तैको ओलम्पिकमा फोस्बरी छनोट चरणबाटै बाहिरिए। तर, उनको तकनिक 'फोस्बरी फ्लप' का रुपमा आजसम्म चर्चित छ।
छोटो दूरीका तेज धावकको गोडा मात्र होइन पाखुरा पनि गठिलो हुनुपर्छ। तर, म्याराथन धावक भने खिनौटे हुनुपर्छ। यस्तो भिन्नता किन पनि आवश्यक छ भने, छोटो दूरीका दौड केही सेकेन्डमै सकिन्छ। त्यति छोटो समयमा शरीरलाई चाहिने सम्पूर्ण ऊर्जा खिनौटो शरीरले पैदा गर्नै सक्दैन। त्यसैले, गठिलो मांसपेशीमा रहेको तयारी ऊर्जालाई तेज गतिका क्रममा श्वासप्रश्वासको माध्यमले प्रयोग गर्न सकिन्छ। त्यसैगरी दौडिंदा गठिलो पाखुरा पछिल्तिर धकेल्दा न्यूटनको गतिको तेस्रो नियम अनुसार धावकलाई झनै अगाडि हुत्याउन मद्दत गर्छ। तर लामो दूरीका धावकसँग श्वासप्रश्वासको माध्यमले अक्सिजन खपत गरेर शरीरलाई चाहिने ऊर्जा निकाल्ने प्रशस्त समय हुन्छ। लगातारको दौडाइमा शरीरको तापक्रम बढ्नबाट रोक्न पनि लामो दूरीका धावक पातलो हुनु आवश्यक हुन्छ।
शटपुट हावाको गतिभन्दा त्यसको उल्टो गतिमा फ्याक्दा झन् परसम्म पुग्छ। यसको कारण हो, बर्नौली सिद्धान्त। यही सिद्धान्तकै कारण हवाईजहाज उड्छ। जिम्न्यास्टिक वा डाइभिङमा शरीर घुमाउँदा हातखुट्टा शरीरको जति नजिक भयो कोणीय गतिको संरक्षण (कन्जरभेसन अफ एङ्गुलर मोमेन्टम) ले गर्दा शरीर त्यति नै धेरै पटक घुम्छ। फ्याँकेकै दिशामै जाओस् भन्नलाई रग्बीको अण्डाकार बललाई घुमाएर फालिन्छ, यसलाई गैरोस्कोप इफेक्ट भनिन्छ। खेलकुदमा भौतिक विज्ञानको यस्ता उपयोगिताका असंख्य उदाहरण छन्।
(काफ्ले युनिभर्सिटी अफ वेस्टर्न अस्ट्रेलियामा भौतिक शास्त्रका अध्यापक हुन्।)