अर्थ/बजारमंगलवार, श्रावण १८, २०७३

लेमनग्रासबाट समृद्धि

हिमालखबर

- जीवनप्रसाद राई
जाजरकोट, बोहरा गाउँकी कृषक लक्ष्मणकुमारी मल्ल शाहले थालेको लेमन ग्रास उद्यमलाई देशको कृषि नीतिले समेट्ने हो भने समृद्धि नजिकिनेछ।

लक्ष्मणकुमारी मल्ल शाह।

'लेमन ग्रास' अर्थात् कागतीको वास्ना आउने सिरुजस्तो घाँस। स्वाद पनि ठ्याक्कै कागतीको जस्तो। यो वनस्पति पूरै नेपालभर फिंजिएको छ, तर मसला वा आँगनको डिल सजाउने बिरुवाको रूपमा मात्र। जाजरकोट जिल्लाको बोहरा गाउँ पुग्दा चाहिं गाउँको पूरै पाटोमा लेमन ग्रास लगाइएको पाइयो। यो नयाँ खेतीकी कृषक रहिछन्, लक्ष्मणकुमारी मल्ल शाह र उनका छोरा सुमन। 

शाह आमाछोराले यो क्षेत्रमै लेमन ग्रास खेती अभियान चलाएका छन्। अभियानकै कारण सिंगो बोहरा गाउँ लेमन ग्रास उत्पादनमा सामेल भएको छ र १० किलोमिटर परका गाउँहरूमा समेत लेमन ग्रास रोप्न थालिएको छ। आफ्नो पूरै जमीनमा परम्परागत बाली मासेर लेमन ग्रास लगाएका शाह आमाछोराले यसबाट सुगन्धित तेल निकाल्ने आधुनिक मेशीन पनि भित्र्याएका छन्। मेशीन जडान गरेर तेल निकाल्न थालेपछि अहिले गाउँमा रोपिएको लेमन ग्रास साता दिन मात्र पुग्ने बढीमा दुई सय लीटर तेल निस्कने शाहले बताइन्।

अथाह सम्भावना
लेमन ग्रासको खेती र यसको प्रशोधनबाट हुने फाइदा बुझेरै लक्ष्मणकुमारी मल्ल शाहले यो आँट गरेकी हुन्। यो सुगन्धित घाँस विश्वले रुचाएको तेलको स्रोत हो। तरकारी वा सलादमा सीधै मिसाउन सकिने यो घाँसको स्वास्थ्यवर्द्धक चिया पनि बनाउन सकिन्छ। यसलाई प्रशोधन गरेर तेल निकाल्दा स्थानीय स्तरमै प्रतिलीटर रु.५–६ हजारसम्म पाइने क्षेत्रीय घरेलु विकास समिति, सुर्खेत झ्रेपछि थाहा भयो।

एक लीटर तेल निकाल्न कम्तीमा ५०० किलो लेमन ग्रास चाहिन्छ। तर, एकै रोपनीमा २–३ हजार किलो लेमन ग्रास हुन्छ र वर्षमा दुई–तीन पटक काट्न सकिन्छ। यसको तेलको मुख्य बजार औद्योगिक देशहरू हुन्। यो सुगन्धित तेल विभिन्न ब्राण्डका महँगा पर्फ्यूम, क्रिम, फेसवास, साबुन, स्याम्पु, बडी स्प्रे, जेल आदि सौन्दर्य प्रसाधन र औषधिमा प्रयोग गरिन्छ। अहिले त नेपालमै पनि यसको माग बढिरहेको छ।

अतः लेमन ग्रास नेपालको लागि ठूलो आर्थिक सम्भावना बोकेको घाँस हो भन्नेमा दुईमत हुँदैन। हाम्रा योजनाकार र उद्योगी–व्यवसायीहरूले बेलैमा यसतर्फ ध्यान दिने हो भने हामीले कच्चा तेल बेच्ने मात्र नभई, यसबाट अन्तिम उत्पादन गरेर पनि अथाह फाइदा लिन सक्छौं। 

नेपालमा बेला–बेला ब्यांकरहरू नेपाल राष्ट्र ब्यांक गएर आफ्नो पैसा लगानी हुन नसकेकोले वातावरण बनाइदिन आग्रह गरेको समाचार आउने गरेका छन्। उनीहरूले लेमन ग्रासजस्तो झ्ार प्रशोधन गर्ने आधुनिक उद्योगमा लगानी गर्ने सोच बनाए यो झ्ार उमार्ने किसान र त्यसबाट निस्कने तेलको बजार तयार छ। पैसा थुपारेर बसेका ब्यांकर्सहरूले यसतर्फ सोचून्।

Caption

सजिलो खेती
लेमन ग्रासको खेती नेपालको हिमाली क्षेत्रबाहेक सबै ठाउँमा हुन्छ। मध्यपहाड, खोंच, बेसी, मधेश र भित्री मधेशमा त यो खूबै सप्रन्छ। गर्मी हावापानी भएको ठाउँमा त वर्षमा तीन पटकसम्म यसको उत्पादन लिन सकिन्छ। पहाडमा वर्षमा कम्तीमा दुई पटक काट्न सकिन्छ। यसका लागि परम्परागत अन्नबालीको खेतीमा जस्तो जनशक्ति पनि चाहिन्न। न वर्षेनि बीउ छर्नुपर्छ न त गोडमेल गरिरहनुपर्छ। अरू अन्नबालीलाई जति मल–जल पनि चाहिंदैन। आधुनिक मेशीन प्रयोग गरे २० जनाले एक दिनमा काट्ने लेमन ग्रास दुई घण्टामै जम्मा हुन्छ।

जनशक्तिको अभावमा बाँझो बस्न थालेका खेतबारीहरूमा लेमन ग्रास लगाउन सकिन्छ। लेमन ग्रास त भीर, कान्ला र पाखोमा पनि हुन्छ। धेरै जमीन हुनेलाई व्यावसायिक खेती र थोरै जग्गा हुनेलाई अतिरिक्त आम्दानीका लागि निकै उपयुक्त छ, लेमन ग्रास। लेमन ग्रास प्रकृतिमा यतिकै पनि फुल्न–फल्न सक्ने हुनाले यसमा रोग–कीरा लाग्ने हुँदैन। यो अत्यन्तै तीव्र गतिमा बढ्ने तथा फैलिने खेती पनि हो।

हाम्रा योजनाकारहरूले व्यावसायिक लेमन ग्रास खेतीको नीति बनाउँदा तेल निकाल्ने आधुनिक मेशीन आयात, मेशीनमा काम गर्ने कामदार, तेलबाट वस्तुहरू उत्पादन र ती सामग्रीलाई बजारमा कलापूर्ण तरीकाले बेच्ने जनशक्ति उत्पादनलाई केन्द्रमा राखे पुग्छ। स्थानीय स्रोतसाधन परिचालनबाट समृद्धि निम्त्याउने तरीका हो, यो।

प्रतिकृया दिनुहोस