टिप्पणीबिहिवार, चैत्र १७, २०७३

उत्तरप्रदेश जितको नेपाली उत्तरगाथा

चन्द्रकिशोर

गोरखपुरस्थित गोरखनाथ मन्दिरका महन्त योगी आदित्यनाथ उत्तरप्रदेशको मुख्यमन्त्री भएपछि नेपालमा उठेका आकलनका फोकाहरूले आकार ग्रहण गर्न सक्ने सम्भावना न्यून छ।

भारतको उत्तरप्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथ । तस्वीर: हिन्दुस्तान टाइम्सबाट साभार

नेपालसँग जोडिएका भारतीय राज्यहरू पश्चिम बंगाल, बिहार र उत्तरप्रदेशमा राजनीतिक उतारचढाव हुँदा नेपालमा त्यसको प्रभाव–चर्चा अवश्यंभावी छ। पूर्वी तराईसँग जोडिएको पश्चिम बंगालमा लामो वामपन्थी शासन हुँदा होस् वा ममता वनर्जीको नेतृत्वमा त्यो लाल किल्ला तोडिंदा, त्यसको नेपाली पाठबारे सरोकार राखिएको थियो। 

गत वर्ष संविधानप्रति असन्तुष्टि राख्दै नेपालको तराई–मधेशमा आन्दोलन भइराख्दा बिहारमा प्रान्तीय चुनाव भयो। बिहार चुनावमा क्षेत्रीय दलहरूको स्वार्थ र केन्द्रमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) को सरोकारलाई लिएर अनेकौं आकलन भए।

अहिले उत्तरप्रदेशमा भाजपाले प्रचण्ड बहुमतका साथ गोरखपुरस्थित गोरखनाथ मन्दिरका महन्त योगी आदित्यनाथलाई मुख्यमन्त्री बनाउँदा उनको 'नेपाल कनेक्सन' को पृष्ठभूमिमा त्यसले नेपाली अर्थ–राजनीतिमा पार्ने प्रभावबारे घोत्लिने काम भइरहेको छ।

दिल्लीको नेपाल पुग्ने बाटो
भारतीय राजनीतिमा चल्तीको एउटा भनाइ छ– 'दिल्ली पुग्न त उत्तरप्रदेश भएर नै गुज्रिनुपर्छ।' हुन पनि, भारतको केन्द्रीय संसद्का निमित्त ८० वटा सिट उत्तरप्रदेशसँग छन्। लखनऊमा योगीको सत्तारोहण भएपश्चात् भने कतिपयले उनलाई दिल्लीको नेपाल पुग्ने बाटोका रूपमा अर्थ्याएका छन्।

योगी आदित्यनाथ नेपालमा पूर्व राजा ज्ञानेन्द्र शाह र 'हिन्दू राष्ट्रवादी' हरूका हितैषी हुन्। दिल्लीमा गुरुत्व बढाएका उनले आफ्ना नेपाली सरोकारवालाहरूको अपेक्षालाई ध्वनित गरिदिन सक्छन् भन्ने कतिको अपेक्षा छ। नेपालको दक्षिणपन्थी खेमाले दिल्ली दरबारमा बलियो खम्बा भेट्टाउन नसकेको बेला यस्तो अपेक्षा हुनु स्वाभाविकै हो।

कुनै बेला दिल्लीको सत्तासँग लुकामारी खेल्ने नेपालको राजसंस्थालाई भारतीय कांग्रेस पार्टीभित्रको राजारजौटाहरूको एउटा प्रभावशाली वृत्तले 'इन्गेज' राख्थ्यो।

भाजपाको उदयपश्चात् भने त्यस्तो सम्पर्क सूत्रको कमी भयो। यो अवस्थामा भएको योगीको उदय ज्ञानेन्द्र शाहलाई आश्वस्त पार्ने एउटा पाटो हुनसक्छ, तर यत्तिकैमा उनी बढी उत्साहित भए भने त्यसले फेरि पनि त्यही पुष्टि गर्नेछ– न उनी राजनीति बुझनमा कामयाव भए न त सफल व्यापारी।

योगी र उनी जोडिएको गोरखपुर मठको नेपालमा सम्पर्क र प्रभाव छ, तर सानो वृत्तमा। नेपालका ठूला राजनीतिक शक्तिहरूसँग योगीको धेरै सामीप्यता नभएकोले उनी नेपालमा दिल्लीको मनसाय अभिव्यक्त गरिदिन सक्षम नहोलान्।

भाजपाको चश्मा
अटलविहारी वाजपेयीको नेतृत्वमा सन् २००४ मा भएको चुनावमा भाजपाले केन्द्रीय सत्ता गुमाएको थियो। नरेन्द्र मोदीको अगुवाइमा पुनः दिल्ली कब्जा गरेपछि भाजपा हतारमा छैन, बरु २०१९ को चुनावभन्दा निकै लामो दौडको तयारीमा छ।

त्यसका लागि आन्तरिक राजनीतिमा शक्ति–सञ्चयका लागि 'सबका साथ, सबका विकास' मन्त्र जप्न लागेको देखिन्छ।

भाजपाले विगतको 'अल्पसंख्यक तुष्टीकरण' को विकल्पमा 'बहुसंख्यकवाद' लाई सूत्र बनाएको छ। 'बहुसंख्यकवाद' मार्फत 'हिन्दूत्व' मा गोलबन्द हुन पुगेको मतमार्फत दिल्लीको केन्द्रीय सत्ता र प्रदेशहरूमा वर्चश्व जमाउने उसको दाउ छ।

भाजपाको चश्माको फ्रेममा विकास र बहुसंख्यकवादको दुइटा ग्लास जोडिएको छ, जसले 'धर्मनिरपेक्षता' शब्द रुचाउँदैन। यसरी नै आन्तरिक राजनीतिमा बलियो हुँदै गएको ऊ विदेशनीतिमा पनि विगतको चश्मा फेर्न उद्यत छ।

सात दशक लामो भारतीय लोकतान्त्रिक यात्रामा अहिले पनि विदेश नीतिमा 'नेहरू दृष्टि' नै प्रभावी छ। अटलविहारी वाजपेयीले पनि त्यसलाई फेर्न सकेनन्। वाजपेयीले आफ्नो छाप छाडे, तर त्यो स्थायी भावको रूपमा आउन सकेन।

मोदीले वैश्विक नेतृत्वसँगको व्यक्तिगत घूलमेल बढाए, यसमा उनी सफल पनि देखिए। त्यसक्रममा अन्तर्राष्ट्रिय सेवामा पठाइने पदाधिकारीहरूको छनोटमा 'मोदी डिप्लोमेसी' लाई प्रवर्द्धन गर्नेहरू प्राथमिकतामा पर्नु अस्वाभाविक भएन।

नेपालमा पनि भाजपाको रणनीतिक शक्ति केन्द्र राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) ले सिफारिश गरेका कूटनीतिज्ञहरूले अवसर पाउन थालेका छन्। त्यति मात्र होइन, भाजपाका सहयोगी संस्थाहरूले नेपालमा विभिन्न गैर–सरकारी संस्थामार्फत आफ्ना दृष्टिकोण प्रक्षेपित गर्न थालेका छन्।

भाजपानिकट संस्थाहरूको सक्रियतामा लैनचौर बाहिर पनि भारतमैत्री क्रियाकलापहरू बाक्लै हुन थालेका छन्। भाजपाले भारतभित्र पनि नेपाल मामिलामा चासो राख्नेहरूमा सूत्रहरू फैलाउन थालेको छ।

यो पृष्ठभूमिमा भाजपाका नेताहरू नेपालको आन्तरिक राजनीतिमा पहाड–मधेश दूरी बढाउने जस्ता कुराबाट जोगिन चाहन्छन्। बरु उनीहरू धर्म र विकासको कुरा गरेर जाति, क्षेत्र वा दलको साँघुरो राजनीतिलाई उछिन्दै आफ्नो प्रभाव फैलाउन र त्यसलाई दीर्घकालीन बनाउन चाहन्छन्। नेपालमा बढ्दो चिनियाँ प्रभावलाई निस्तेज पार्न पनि यही नीति कारगर हुने उनीहरूको ठम्याइ बुझ्न सकिन्छ।

नेपालमा बढ्दो चिनियाँ प्रभाव, इसाईकरण र मुस्लिमहरूमा अतिवाद संक्रमणको सम्भावना भन्ने बुझ्ाइ समेतका कारणबाट चिन्तित भाजपा, उसका हिन्दूवादी संगठन र 'थिंकट्यांक' हरू 'नेपालसँगको भावनात्मक सूत्रहरू चुँडाउने प्रयत्नलाई बेलैमा रोक्नुपर्छ' भन्छन्। त्यसका लागि भाजपाले आफ्ना मञ्चहरूमार्फत नेपालमा बहुपक्षीय संवाद तथा विकासको उपक्रमलाई प्रोत्साहित गर्न थालेको छ, यतिखेर।

योगीको 'कनेक्सन'
वृत्त सानै भए पनि योगी आदित्यनाथको नेपाल 'कनेक्सन' पूर्व राजा ज्ञानेन्द्र, हिन्दूत्ववादी संगठन र उनीहरूसँग जोडिएका स्वार्थी समूहदेखि नेपाली कांग्रेस, नेकपा एमाले र मधेशकेन्द्रित दलहरूसम्म छ।

उत्तरप्रदेशसँग जोडिएका तराईका जिल्लाका सांसद्हरू उनको सम्पर्कमा छन्। यसमा गोरखनाथ मठको सांस्कृतिक प्रभावसँगै पछिल्लो समयमा त्यसका मठाधीशको उर्लंदो राजनीतिक हैसियतले पनि काम गरेको छ।

मधेशकेन्द्रित दलहरूमध्ये केहीमा त आरएसएसको चाहना र भाजपाको सिफारिशमा सांसद् वा केन्द्रीय पदाधिकारी बनेकाहरू पनि छन्। तर, यतिमात्रले नेपालको राजनीतिमा 'हिन्दू राष्ट्र' ध्वनित हुँदैन।

गणतन्त्र नेपालमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले 'हिन्दू राष्ट्र' लाई अडेस लाग्ने भित्तो बनाएको छ। कांग्रेस, एमाले र माओवादी केन्द्रभित्र गुटगत संघर्षमा बलियो हुन बेलाबखत भाजपाका शीर्ष नेताहरूलाई भेटेर केही 'वाचा' गरी फर्किएकाहरू यो वा त्यो मौकामा 'हिन्दू राष्ट्र' को कुरा चुहाउँछन्। तर, नेपालको राष्ट्रिय राजनीतिले यो सवाललाई मूलधारमा नतानेसम्म केवल योगीकै काँधबाट धार फेरिनेवाला छैन।

उता, योगी बलियो जनमत पाए पनि आफ्नै चक्रव्यूहमा अल्झिन थालेका छन्। महन्तको रूपमा बोल्दै हिंड्नु र प्रदेशको मुख्यमन्त्री भएर कुरा गर्नुमा फरक जो छ।

अपार बहुमतले अति उत्साही उनले आफ्नो जितको नेपाली अन्तरगाथालाई कस्तो अन्त्यमा पुर्‍याउँछन्, त्यो हेर्न केही समय कुर्नुपर्ने हुन्छ।

प्रतिकृया दिनुहोस