भारतीय सेनाध्यक्षलाई मानार्थ महारथीको दर्ज्यानी प्रदान
राष्ट्रपति विद्यादेवी भण्डारीबाट भारतका स्थल सेनाध्यक्ष विपिन रावतलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा १६ चैतमा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले उनलाई मानार्थ महारथीको उपाधि प्रदान गरेकी हुन । राष्ट्रपति भण्डारी नेपाली सेनाको परमाधिपति हुन । नेपाल र भारतबीच एकअर्को मुलुकका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने चलन रहिआएको छ ।
सो अवसरमा रक्षामन्त्री बालकृष्ण खाँण, मुख्य सचिव डा।सोमलाल सुवेदी, प्रधानसेनापति राजेन्द्र क्षत्री, नेपालका लागि भारतीय राजदूत मन्जिभसिंह पुरी उपस्थित रहेका थिए ।
प्रधानसेनापति क्षत्रीको औपचारिक निमन्त्रणामा भारतीय सेनाध्यक्ष रावत १५ चैतमा चार दिवसीय भ्रमणको सिलसिलामा नेपाल आएका हुन । उनले नेपालका केही महत्वपूर्ण पर्यटकीय एवम् धार्मिकस्थल तथा नेपाली सेनाको जोमसोमस्थित सैनिक उच्च शिखर शिक्षालयको भ्रमण गर्ने नेपाली सेनाले जनाएको छ । पोखरास्थित भारतीय पेन्सन वितरण कार्यालयको समेत निरीक्षण गर्ने कार्यक्रम छ । रासस