ब्राजील विश्वकप २०१८ मा छनोट
पाँच पटकको विश्वकप विजेता ब्राजील विश्वकप फुटबल २०१८ मा छनोट हुने पहिलो देश बनेको छ। १४ जुन–१५ जुलाई २०१८ मा रसियामा हुने विश्वकपका लागि चार खेल खेल्न बाँकी छँदै ब्राजीलले छनोट चरण पार गरेको विश्व फुटबल महासंघ (फिफा)ले जनाएको छ। १६ चैत विहान पाराग्वेलाई ३–० गोल अन्तरले पराजित गर्दै उसले विश्वकप यात्रा सुनिश्चित गरेको हो ।
दक्षिण अमेरिकी समूहबाट छनोट भएको ब्राजीलले १४ खेलबाट ३३ अंक जोडेको छ । यो समूहको दोस्रो स्थानमा रहेको कोलम्बियाको २४, तेस्रो र चौथो स्थानका उरुग्वे र चिलीको समान २३ अंक छ। पाँचौ स्थानमा रहेको अर्जेन्टिनाको २२ अंक छ ।
यो समूहको शीर्ष चार टीम स्वतः छनोट हुन्छ भने पाँचौ टीमले अन्तर महादेशीय ‘प्ले अफ’ खेल्न पाउनेछ। यो समुहमा रहेका मध्ये १४ खेलबाट १० अंक जोडेको बोलिभिया र ६ अंक जोडेको भेनेजुएयला विश्वकपबाट बाहिरिएको छ ।
आयोजकको रुपमा रसियाले पनि विश्वकप खेल्ने निश्चित भईसकेको छ।