आरआरमा मतदान सम्पन्न, ७ बजेदेखि मतगणना हुने
विभिन्न विद्यार्थी सङ्गठनको अवरोधकाबीच रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) मा स्ववियू निर्वाचनको मतदान सम्पन्न भएको छ ।
आज बिहान ८ बजेदेखि शुरु भएको मतदान बेलुका ५ बजेसम्म चलेको थियो । मतदानमा कुल एक हजार २ सय ७६ मत खसेको छ । बेलुका ७ बजेदेखि मत गणना शुरु हुने अनेरास्ववियुका तर्फबाट सचिवका उम्मेदवार रहेका नारायण शर्माले जानकारी दिए ।
१८ फागुनमा त्रिभुवन विश्वविद्यालयले तोकेको मितिमा स्ववियु निर्वाचन हुन नसकेपछि २३ फागुनमा निर्वाचन मिति तोकिएको थियो । तर स्थानीय निर्वाचनको आचारसंहिताले स्ववियू चुनाव गर्न नमिल्ने भन्दै निर्वाचन आयोगले २३ फागुनमा चुनाव नगर्न आग्रह गरेको थियो ।
आरआर क्याम्पसमा अनेरास्ववियुका तर्फबाट अध्यक्षका उम्मेदवार रहेका तपेन्द्रबहादुर शाहीले निर्वाचनको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिट माथि सुनुवाइ गर्दै सर्वोच्चले निर्वाचन सम्पन्न गराउन क्याम्पस प्रशासनलाई निर्देशन दिएको थियो ।
निर्वाचन बहिस्कार गर्ने भन्दै बिहान अखिल क्रान्तिकारीलगायत केही सङ्गठनले क्याम्पस बाहिर नारा जुलुस सहित ढुङ्गामुढा गरेका थिए । स्ववियु सभापतिमा नेविसंघका तर्फबाट उत्तमबहादुर साउद उम्मेदवार छन् भने अनेरास्ववियुका तर्फबाट तपेन्द्रबहादुर शाही उम्मेदवार छन् ।