बजारमै पाइन्छन् प्रश्नपत्र
दाङमा जिल्लास्तरीय परीक्षा भनिए पनि कक्षा ८ को वार्षिक परीक्षाका प्रश्नपत्र परीक्षाअगावै बजारमा छ्याप्छ्याप्ती भेटिन थालेका छन् ।
९ चैतदेखि शुरु भएको परीक्षाको प्रश्नपत्र परीक्षा शुरु हुनुअगावै प्रश्नपत्र सबैको पहुँचमा पुगिसकेको हुन्छ ।
आज भइरहेको स्वास्थ्य तथा शारीरिक शिक्षाको प्रश्नपत्र सोमबार नै बजारमा आइसकेको थियो । त्यसै गरी, बुधवार हुने पेशा व्यवसाय र प्रविधि शिक्षाको प्रश्नपत्र पनि बजारमा आइसकेको छ । यसरी कसरी बजारमा प्रश्नपत्र आयो भन्नेबारेमा शिक्षक नै अनभिज्ञ छन् ।
तर जिल्ला शिक्षा अधिकारी रमेशप्रसाद मैनालीले भने यसलाई सामान्य रूपमा लिएको बताउँछन् । उनले यसलाई सामान्यरुपमा लिने बताउँदै सम्बन्धित स्कुलका विषयगत शिक्षकले अर्को प्रश्नपत्र बनाएर जाँच सञ्चालन गर्ने शिक्षा नियमावलीले अधिकार दिएको पनि बताए ।
“प्रश्नपत्र आउट भएको मैले पनि सुनेँ, तर त्यसले परीक्षा रोकिने छैन, सम्बन्धित विषय शिक्षकले प्रश्नपत्र तयार गरी सम्बन्धित स्कुलमै परीक्षा लिन सक्नेछन्,” उनले भने । तर उनको यो अभिव्यक्तिले जिल्लास्तरीय परीक्षाको गरिमा भने घटाएको छ ।
एकै समयमा र एउटै प्रश्नपत्र विद्यालयमा परीक्षा शरु हुनुभन्दा पहिले १५ मिनेट अगाडि खोल्नुपर्ने प्रावधान भए पनि हाल विद्यालयले फरकफरक प्रश्नपत्र बनाएर परीक्षा गरिरहेका छन् । धेरैजसो विद्यालयले भने प्रश्नपत्र आउट भएको थाहा पाएपछि आफूहरुले छुट्टै प्रश्नपत्र तयार पारेको बताएका छन् ।
त्यसै गरी, जिल्ला शिक्षा कार्यालयबाट जारी गरेका प्रश्नपत्रबाट परीक्षा दिइरहेको केही विद्यालयहरुले जनाएका छन् । अन्य केही विद्यालयले भने आफूहरुले छुट्टै प्रश्नपत्र तयार गरी परीक्षा गराएका छन् ।
रासस