रत्नराज्यमा स्ववियु निर्वाचन जारी, बाहिर ढुंगामुढा
काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुँदै गर्दा मतदानस्थलबाहिर निर्वाचन विथोल्न ढुंगामुढा भइरहेको छ ।
अनेरास्ववियु, नेविसंघ लगायतका विद्यार्थी संगठनहरुले मतदानमा भाग लिए पनि अखिल क्रान्तिकारी लगायतका केही संगठनले भने निर्वाचनको विरोध गर्दै बाहिर ढुंगामुढा गरेका हुन् ।
प्रहरीले ढुंगामुढामा उत्रिएका विद्यार्थीहरुलाई बारम्बार लखेटे पनि उनीहरुले ढुंगामुढा गर्न छोडेका छैनन् । विद्यार्थीहरुलाई परिचयपत्र हेरेरमात्र मतदानस्थलमा जान दिइएको छ ।
रत्नराज्यमा पटकपटक विवादका कारण हुन नसकेको निर्वाचन पछिल्लो समय निर्वाचन आयोगको आदेशबाट रोकिएको थियो भने सर्वोच्च अदालतको आदेशपछि मात्रै आज निर्वाचन हुन लागेको हो ।
स्ववियु सभापतिमा नेविसंघका तर्फबाट उत्तमबहादुर साउद उम्मेदवार छन् भने अनेरास्ववियुका तर्फबाट तपेन्द्रबहादुर शाही उम्मेदवार छन् ।