दर्ता नभएका औषधी पसल सिलबन्दी
दर्ता नगरेर सञ्चालनमा रहेका औषधी पसलहरुमा आपूर्ति मन्त्रालयले सिलबन्दी गरेको छ । मन्त्रालयको आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभागको अनुगमन टोलीले भक्तपुरका आधा दर्जन औषधी पसलमा सिलबन्दी गरेको हो । ६ भदौमा गरिएको अनुगमनका क्रममा दर्ता नगरी सञ्चलान गरेका औषधी पसलमा सिलबन्दी गरिएको आपूर्ति मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्दराम रेग्मीले जानकारी दिए ।
अनुगमन टोलीले भक्तपुरको गठ्ठाघरका एसएस क्लिनिक, सम्झना ल्याबरोटोरी क्लिनिक, गठ्ठाघर अल्ट्रासाउण्ड क्लिनिक र अरिनि हाईवे पोलिक्निकमा सिलबन्दी गरेको हो । ति क्लिनिकहरु जिल्ला जनस्वस्थ्य कार्यालय, भक्तपुरमा दर्ता नभएको पाइएको प्रवक्ता रेग्मीले बताए ।
त्यस्तै सूर्य विनायकको अरिनि हाईवे पोलिक्लिक प्रा.लि. फार्मेसी युनिट पनि औषधी व्यवस्था विभागमा दर्ता नभएको जनाउदै तीन दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ । यसैगरी मध्यपुर ठिमीको थिमी फार्मेसीलाई ब्याच नम्बर र समाप्त मिति उल्लेख भएका औषधी मात्रै बिक्री गर्न निर्देशन दिएको छ भने गठ्ठाघरको एस.एस. मेकिडल स्टोरलाई तीन दिन भित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएको छ । सो औषधी पसलमा तोकिएको भन्दा बढी मूल्यमा औषधी बिक्री भइरहेको पाइएको थियो ।
अनुगमनका क्रममा खाद्य पसल तथा फ्रुट पसलहरुलाई पनि सचेत गराएको छ । मापदण्ड अनुसार सञ्चालनमा ल्याउन पसलेहरुलाई निर्देशन दिएको जनाएको छ । विभागले ३१ साउनदेखि बजार अनुगमन सुरु गरेको थियो ।