ब्लगसोमवार, चैत्र १४, २०७३

नगर्नु च्याकुलझ्याइँ !

कनक दीक्षित

दुर्घटना हुन्छ । रुखबाट घाँस झार्दा कोही भुईंमा बजारिन्छ, कोही गाडीको ठक्करले मोटरसाइकलबाट सडकमा लड्छ । 

हाम्रो प्रतिक्रिया के हुन्छ ? लम्पसार घाइतेतर्फ बढ्छौं, ट्याक्सी अथवा कुनै उपलब्ध वाहनलाई रोक्छौं र अस्पताल दौडाउने जमर्को गर्छौं । सहृदयी नागरिकले गर्नुपर्ने यही हो, तर त्यो गर्दागर्दै अक्सर हामी ठूलो गल्ती गरिरहेका हुन्छौं ।

घाइते व्यक्तिलाई च्याकुलझ्याइँ  (दुईजनाले दुईतिर समाएर झुन्ड्याउँदै ल्याउने वा लैजाने काम; झ्याइँकुटी,  झ्यानाकुटी– नेपाली बृहत् शब्दकोश ।) पार्दै उद्धार गर्न हामी तम्सन्छौं– अस्पताल पुर्‍याउने गाडीमा छिराउन या छेउछाउको घरआँगनमा लैजान ।  हामी आफ्नो चिन्ता र क्रियाशीलता देखाउन बेजोडसँग लाग्छौं,  दुर्घटना पीडितको जीउलाई च्याकुलझ्याइँ पार्दै बोक्छौं, ठूलो ज्यानको रहेछ भने लतार्छौं, घिसार्छौं ।  हामी दुईजना रहेछौं भने एकजनाले टाउको पट्टिबाट र अर्कोले खुट्टा समाएर उचाल्छौं ।

उद्धारकर्तालाई कसले भनिदेओस् कि यो च्याकुलझ्याइँले बिरामीको हालत झनै खराब गर्दिन सक्छ । घाइतेको अवस्था दुर्घटनाबाट भन्दा गम्भीर बनाइदिन सक्छ । उद्धारको यत्नमा हामी खुट्टा मात्र नचल्ने अवस्थाको घाइतेलाई पूरै जीउ प्यारालाइज् हुनेसम्म गरिदिन्छौं !

‘ट्रमा केयर’ को आकस्मिक सेवा पुर्‍याउने डाक्टर या विशेषज्ञहरूको लागि नेपाली जनतामाझ दुर्घटनाका घाइतेलाई सम्हाल्ने अज्ञानता कहालीलाग्दो छ– सद्दे ज्यानलाई पूर्णतः अपांगसम्म बनाउने खालको ।

घाइते व्यक्तिलाई च्याकुलझ्याइँ गरिदै ।             तस्वीर सौजन्यः स्पाइनल इन्जुरी पुनर्स्थापना केन्द्र

दुर्घटना या कुनै भवितव्यका घाइतेलाई उद्धार गर्ने मनसाय अति उत्तम हुँदाहुँदै उद्धारकर्ताले बुझ्नुपर्‍यो– घाइतेको जीउको भारीलाई यताउता गर्दा उसको सहयोग भन्दा हाम्रो मानवीय संवेदनशीलता प्रदर्शन गर्न खोजिरहेका हुन्छौं हामी । केही न केही गर्नु र गरेको देखाउनुपर्ने हाम्रो ‘रेस्पन्स्’ हुन्छ ।

हामी सबैमा सूचना र तौरतरीकाको अभाव रहेको छ । मेरुदण्डमा गम्भीर चोट पुर्‍याउने दैनिक दुर्घटना भइरहेका हुन्छन्– घर, खेतबारी, जंगल, सडक, स्कूल, कार्यालय, मेलापात, बजार आदिमा । तर यस्तो गर्नु, त्यसो नगर्नु सूचना हामी पाउँदैनौं ।

दुर्घटनामा पहिला घाइतेछेउ पुग्ने प्यारामेडिक, डाक्टर–नर्स, प्रहरी वा अन्य तालीमप्राप्त उद्धारकर्ता नभई घरपरिवार, छिमेक या छेउछाउका वटुवा हुन्छन् । यसै कारण दुर्घटनाको प्रथम ‘रेस्पोन्डर’ लाई घाइतेलाई कसरी सम्हाल्ने भन्ने सरल सूचनाद्वारा प्रसार हुनुपर्छ । देशव्यापी नागरिक शिक्षाको अभियानको खाँचो छ स्वास्थ्य मन्त्रालयको अगुवाइमा– च्याकुलझ्याइँ निषेध अभियान ।

‘स्ट्याबिलाइज्’ गर्नुको कारण

दुर्घटनामा पर्दा शरीरको जुनसुकै भागमा गम्भीर चोट पर्न सक्छ, तर सबभन्दा संवेदनशील अंग हो, हाम्रो ढाड । किनकि, मस्तिष्कबाट शरीरको हर भागमा यसो गर, उसो गर भनेर आदेश जाने नसाको मूठो हाम्रो मेरुदण्ड हो, जो भर्टेब्रे हड्डीभित्र नलीमा बसेको हुन्छ । दुर्घटनामा मेरुदण्डमा माथि गर्दनतिर या ढाडको तलपट्टि कता चोट पुगेको छ, त्यसले नै बिरामीको कुन भाग प्यारालाइज् हुन्छ निर्धारण गर्छ । तलतिर चोट लागेर मेरुदण्ड छिन्न गयो भने खुट्टा नचल्ने तथा दिसापिसाबमा नियन्त्रण हराउने हुनसक्छ, माथितिरको मेरुदण्डमा चोट लाग्दा यी बाहेक हात पनि नचल्ने वा सास फेर्न गाह्रोसम्म हुनसक्दछ ।

मेरुदण्ड चोट (स्पाइनल इन्जरी) ले सद्दे मानिसलाई अपांग र परनिर्भर बनाइदिन्छ भने दुर्घटनामा उद्धारकर्ताको सहृदयी तर गलत क्रियाकलापले घाइतेको जीवनमा थप बर्बादी ल्याउने सम्भावना रहन्छ । यसमा गम्भीर भई घोत्लिनुपर्नेछ । दुर्घटनास्थलमा लडिरहेको घाइतेलाई बोक्दै, घिसार्दै यताउता दौडाउने काम गर्नुहुँदैन । घाइतेको ढाडको भर्टेब्रेहरू भाँचिएको छ भने उद्धारको क्रममा झन् लथालिङ्ग पारेर अपांगता बढाउने सम्भावनाप्रति उद्धारकर्ता सजग हुनुपर्छ ।

दुर्घटनास्थलमा लम्पसार घाइतेलाई हामीले मानसिक आडभरोसा दिनुपर्छ, जाडो हुन नदिन कपडा ओढाइदिए हुन्छ र चाहिने प्राथमिक उपचार दिनुपर्छ तर जीउलाई बोक्ने, घिसार्ने काम गर्नुहुँदैन । ट्रमा विशेषज्ञ या डाक्टर, नर्स, अहेब वा प्यारामेडिक नआउन्जेल बिरामीलाई जहाँको त्यहीं राख्ने हो ।

घाइते सम्हाल्न सिपालु कोही आउने सम्भावना नभए पहिले हामी आफैंले मेरुदण्डलाई ‘स्ट्याबिलाइज्’ गर्नुपर्छ । त्यो भनेको के हो ? घाइतेको शरीरलाई स्थिर राख्ने ताकि लड्दा या ठोक्किंदा जति क्षति भयो मेरुदण्डलाई, त्यो भन्दा बढी क्षति हुन नदिने । हतासामा घाइतेलाई बोकेर, घिसारेर यताउता दौडाउँदा पछि खुट्टा नचल्ने (प्याराप्लेजिक्) या घाँटीभन्दा तल्लो भाग नचल्ने (क्वाड्रुप्लेजिक्) हुन सक्छ ।

ट्रमा विशेषज्ञ ‘प्यारामेडिक’ हरूले दुर्घटनास्थलमा लम्पसार घाइतेसामु आइपुग्ने बित्तिकै पहिला ज्यानको अवस्था जाँच्छन्, एम्बुलेन्समा राख्नुअघि घाइतेलाई विस्तारै कडा प्लाष्टिकको बोर्डमा राख्छन् अनि घाँटी नहल्लियोस् भनेर शुरुमै ‘कलर’ लगाइदिन्छन् ।

हाम्रा गाउँघरमा ट्रमा विशेषज्ञ आइपुग्ने सम्भावना विरलै हुनेहुँदा ‘स्ट्याबिलाइजेशन्’ को अभिभारा आफ्नै हुन जान्छ । हामीले घाइतेलाई नबोकिकन प्लाइउड या पातलो फलेकमा सार्नुपर्‍यो अनि एम्बुलेन्स वा गाडीमा राख्न लाग्दा पनि टाउको नहल्लने गरी अड्याउनुपर्‍यो ।

नेपाललाई ‘दुर्घटनाग्रस्त’ देश भन्न मिल्छ । घर, टहरा, जंगल, कान्लाबाट लड्ने, खस्ने सम्भावना छँदैछ । अस्पताल आइपुग्ने घाइतेको संख्या ह्वात्तै बढेको पनि छ सडक दुर्घटना तथा अन्य दुर्घटनाका कारण । तर घाइतेकहाँ पहिले पुग्ने भनेको आजै पनि गैर–विशेषज्ञ नागरिक नै हुन् । थोरै सूचना र सोचको प्रयोग सही तरीकाबाट गर्ने हो भने बिरामीको अवस्था बिग्रिसकेको भन्दा बिग्रिंदैनथ्यो ।

प्रतिकृया दिनुहोस