संविधान संशोधन नभए निर्वाचन हुँदैन: मधेशी मोर्चा
सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन नभए कुनै पनि हालतमा निर्वाचन हुन नसक्ने बताएका छन् ।
सप्तरीमा गोली लागेर मृत्यु भएका पाँच जनाको मलेठस्थित राजविराज औद्योगिक क्षेत्रमा आयोजित श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्दै उनले सङ्घीय प्रणालीमा स्थानीय चुनाव गराउने अधिकार काठमाडौँलाई नरहेको बताए ।
मधेशको स्थानीय चुनाव गराउने अधिकार मधेशको भएको दाबी गर्दै उनले भने– “यदि चुनाव गराउनु छ भने केन्द्रको गराओस् । केन्द्रको चुनाव गराएर स्थानीय तह दुरुस्त बनाएपछि मात्रै स्थानीय तहको चुनाव गराइनुपर्छ ।”
तराई मधेश लोकतान्त्रिक पार्टीका (तमलोपा)का अध्यक्ष महन्थ ठाकुरले सीमाङ्कनसहित संविधान संशोधनको प्रस्ताव आए मात्र निर्वाचनमा जाने बताए । यस्तै, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मुलुकका तीन ठूला दलबाट मधेशप्रति भेदभाव भइआएको बताए ।
राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारीले २ नम्बर प्रदेशलाई छाडेर निर्वाचन गराए त्यसपछि कुनै पनि सरकारले त्यहाँ निर्वाचन गर्न नसक्ने बताए ।
सोही श्रद्धाञ्जलिसभामा फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव, नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झा र तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले सीमाङ्कनलाई थाती राखेर वा छाडेर सहमति हुन नसक्ने धारणा राखेका थिए । रासस