झापावासीको ७० वर्षदेखिको सपना
गोपाल गडतौला, झापा
मुलुकको दक्षिणी सिमावर्ती क्षेत्रको आर्थिक जीवनको कायापलट गरिदिने सम्भावना स्रोतको रुपमा हेरिएको निर्माणाधिन हुलाकी राजमार्गको पूर्वी ‘प्वाइन्ट’ हो झापाको भद्रपुरस्थित मेची पुुल ।
मेची नदीमा पुल हाली भद्रपुरलाई पारीपट्टी भारतको बिहार र भारतकै पश्चिम बंगालको जोर्नीसँग जोडने सपना झापावासीले देख्न थालेको ७० वर्ष पुग्नै लाग्यो ।
२००७ सालमा राणाशासन अन्त्यसँगै यहाँ पुल हाल्न माग उठदै आएको छ ।
२०२८ सालमा तात्कालीन युवराज विरेन्द्रको इलाम भ्रमण हुँदा झापावासीले पुल बनाउने माग सहित चन्दा उठाएको रु २२ लाख २८ हजार बुझाएका हुन ।
तर त्यो पैसा दरवारमै गायब भएको स्थानीय बुढापाका बताउँछन् । त्यपछि १ पुष २०४१ मा तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले शिलन्यास गरेको ‘पन्टुन ब्रिज’ पनि बनेन ।
हिजोआज भने दुर्वदेशका गाँउलेले वारीपारी गर्न सजिलोका लागि हिँउद याममा बाँसको फड्के हाल्ने गरेका छन् ।
पछिल्लो समय यहाँ पुल बनाउन निर्माण कम्पनी अनक–सूर्या जेवीले २७ पुस २०७१ म निर्माण कार्य सम्पन्न गर्ने गरी २९ पुस २०६६ मा ठेक्का पाएको थियो ।
रु ३७ करोड ३६ लाख ८५ हजारमा ठेक्का लिई काम शुरु भएको पुलको तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्री विजयकुमार गच्छदारले २१ मघ २०६६ मा शिलान्यास गरे । तर पनि पछिल्लो पटक डिजाईन पुनर्विचार गर्नु परेका कारण स्थगित भएको पुलको निर्माण कार्य कहिले सम्पन्न हुने हो थाहा छैन ।
गोपाल गडतौला, झापा