संक्रान्ति बजारमा यसवर्ष मदन–मेला नहुने
कमलमणि दीक्षितको निधन र बजारमा आगालागीका कारण शोक मनाउन भन्दै तेह्रथुमको संक्रान्तिबजारमा यसवर्ष मदन–मेला नहुने भएको छ ।
मदन–ट्रष्टको सहयोगमा स्थानीय व्यवस्थापन समितिले आयोजना गर्दै आएको मेला यसवर्ष ट्रष्टका संरक्षक कमलमणि दीक्षितको निधन र संक्रान्ति बजारमा आगालागी समेत भएकाले नहुने भएको व्यवस्थापन समितिले जनाएको हो ।
तेह्रथुमको पूर्वी अठराई गाउँपालिकाको केन्द्र संक्रान्तिबजारमा ०१५ सालदेखि अक्षतृतीयाका अवसरमा लाग्दै आएको मदन–मेला सशस्त्र हिंसाका बेला हुन छाडेको थियो भने त्यसपछि ट्रष्टका संरक्षक दिक्षितको पहलमा पुनः नयाँ वर्षको अवसर पारेर मेलालाई निरन्तरता दिइएको थियो ।
रानी जगदम्बाले आफ्ना पति मदन शम्शेरको स्मृतिमा मदन ट्रष्ट खडा गरी मदन धारा, जगदम्बा दातब्य औषधालय, अतिथि भवन र रानी चौतारा निर्माण गराउनुका साथै मदन–मेलाको शुरुवात गराएकी थिइन् ।
अतिथि भवन माओवादीले सशस्त्र हिंसाका बेला ध्वस्त पारेका थिए भने त्यसैबेला आम्दानीको स्रोत बन्द गराइएपछि औषधालयसमेत बन्द भएको थियो ।
नयाँ वर्षका अवसरमा एक सातासम्म वैशाखसम्म चल्ने मेलामा विभिन्न सांस्कृतिक कार्याक्रम, खेलकुद प्रतियोगिता लगायतका कार्यक्रम आयोजना हुँदै आएको थियो । अर्को वर्षदेखि भने मेला चल्ने व्यवस्थापन समितिले जनाएको छ ।
लक्ष्मी गौतम, पाँचथर