पूर्व प्रधानमन्त्री सिंह र उपप्रधानमन्त्री निधिबीच भेटघाट
उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहसँग भेटघाट गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतका रूपमा भारत गएका उपप्रधानमन्त्री निधिले ६ भदौमा पूर्व प्रधानमन्त्री सिंहसँग उनकै निवासमा भेटवार्ता गरेका हुन ।
भेटमा नेपालको पछिल्लो राजनीतिक अवस्थाका साथै दुई मुलुकबीचको सम्बन्ध र आपसी हितका विषयमा समेत छलफल भएको बताइएको छ ।
उपप्रधानमन्त्री निधिले यसअघि भारतीय राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंहसँग छुट्टाछुृट्टै उच्चस्तरीय भेटवार्ता गरेका थिए । त्यस्तै भारतीय विपक्षी दल कँग्रेस (आई)का उपाध्यक्ष राहुल गान्धीले उपप्रधानमन्त्री निधिलाई भेटेका थिए ।
भेटवार्ता क्रममा भारतीय उच्च अधिकारीहरुले उपप्रधानमन्त्री निधिलाई नेपाल सरकारले गरेको संविधान संशोधन र मधेस केन्द्रित दलका माग सम्बोधन सम्बन्धमा गरेका कार्यको प्रशंसा गरेको निधिका स्वकीय सचिव विश्वास विक्रमले जानकारी दिए । उपप्रधानमन्त्री निधिको भारत भ्रमणपछि यही भदौ ३० गतेदेखि प्रधानमन्त्री दाहालको भारत भ्रमण तय भएको बुझिएको छ ।
नयाँ सरकार गठनपछि नेपाल सरकारको निर्णयअनुसार उपप्रधानमन्त्री निधि दुई देशबीच उच्चस्तरीय भ्रमणको चाँजोपाँजो मिलाउन यही भदौ २ गते भारत प्रस्थान गरेका हुन । रासस