टिप्पणीशनिवार, चैत्र १२, २०७३

शिलालेखको दुर्गति

वसन्त महर्जन

इतिहास अध्ययनका स्रोतसामग्री नासिनुमा इतिहास नबुझ्ने, बुझ्दै नबुझी प्रशंसा गर्ने वा अति संवेदनशील हुने प्रवृत्ति जिम्मेवार छ।

१२ वैशाख २०७२ को भूकम्पबाट क्षतिग्रस्त बसन्तपुरस्थित माजुदेवल पेटीमाथि तारबारभित्र राखिएका शिलालेख कुल्चँदै तन्नेरीहरु।

इतिहास वा पुरातत्वबारे हामी नेपाली बडो संवेदनशील देखिन्छौं, यसबारे जति पनि बोल्न र लेख्न सक्छौं। यसैलाई सुखद् पक्ष भनेर बस्न सकिने अवस्था भने छैन।

किनभने, हामीकहाँ इतिहासको वास्ता नगर्ने, बुझ्दै नबुझी प्रशंसा गर्ने वा बुझेको देखाउन अति संवेदनशील हुने खतरनाक प्रवृत्ति छ। इतिहास अध्ययनका स्रोतसामग्री नासिनुमा यो प्रवृत्ति धेरै हदसम्म जिम्मेवार छ। 

फागुपूर्णिमाका दिन होली पर्व मनाउन बिहानैदेखि हनुमानढोका–बसन्तपुर परिसरमा जम्मा भएका युवायुवती माजुदेवलको पेटीमा पनि चढे। महाभूकम्पबाट देवल पूरै भत्के पनि पेटी उच्च स्थलकै रूपमा छन्, जहाँ होली मनाउनेहरू तारबार नाघेर, ताला फोरेर पनि चढे।

भूकम्पपछि पनि पूजा हुने गरेको देवलभित्रको शिवलिङ्ग अहिले उदाङ्गो अवस्थामा छ। होलीका दिन त्यहाँ पनि टेकेर बस्ने, फोटो खिच्नेहरूको भीड देखियो, बिहानदेखि बेलुकैसम्म।

माजुदेवलकै दक्षिणपूर्वी कुनाको सबभन्दा तल्लो पेटीमा त्यसै मिल्किएको शिलालेखमाथि टेकेर हिंड्ने वा त्यसैमा उभिनेहरू पनि धेरै भए।

मूर्ति वा अन्य कलाकृति जत्तिकै महत्व राख्ने शिलालेखको सुरक्षामा सम्बन्धित निकायहरूको ध्यान नजाँदा भूकम्पपछि त्यसलाई पेटीमाथि उत्तानो पारेर राखिएको छ।

मन्दिर भत्किंदा कतै परेको शिलालेख उठाएर त्यहाँ राख्दा कहिले काठको चाङमुनि पर्‍यो भने कहिले ईंटाको थुप्रोले थिचियो। अहिले त्यसलाई अक्षर कुँदिएको भागमा कुल्चेर हिंड्न हुने गरी मिल्काइएको छ।

माजुदेवलको शिवलिङ्गमाथि बस्ने र शिलालेख टेक्ने काम फागुको मजा लिन हिंडेका युवायुवती तथा उनीहरूको सिको गर्ने पर्यटकहरूबाट भयो।

चेतनाको कमीका कारण यस्तो हुन गयो भन्न सकिएला, तर यसै विषयसँग सम्बद्ध निकायहरूले यसतर्फ किन होश पुर्‍याएनन् भन्ने प्रश्न उठ्छ नै।

आसन्न होलीको भीडलाई यस्तो कामचलाउ तारबारले रोक्न सक्तैन भन्ने उनीहरूलाई अनुमान हुनुपर्ने हो। भर्खर मात्र पुरातात्विक उत्खनन् सकिएर खाल्डो पुर्न बाँकी नै रहेको त्यहाँ जथाभावी चढ्न दिनुहुँदैन भन्ने चेत उनीहरूमा देखिएन।

भूकम्पले भत्केको सोही क्षेत्रको कृष्ण मन्दिरको शिलालेख पनि ढुंगामाटो र ईंटासँगै खसेर बाटोमा पुगेको थियो। भग्नावशेष पन्छाउने क्रममा यो शिलालेख देगु तलेजु अगाडिको राजा प्रताप मल्ल र राजकुमारहरूको मूर्तिसहितको स्तम्भमुनि कहिले यता, कहिले उता गर्दै अहिलेसम्म यत्तिकै बेवारिसे अवस्थामा राखिएको छ।

प्रताप मल्लद्वारा निर्मित कृष्ण मन्दिरको यो शिलालेख काठमाडौं उपत्यकामा रहेका अनेकौं शिलालेखमध्ये सबभन्दा कलात्मक मान्न सकिन्छ। अब भने त्यसमा पनि खोट पर्न थालेको छ।

इतिहास अध्ययनमा ठूला–साना सबै अभिलेखको महत्व हुन्छ। अभिलेखमा उत्कीर्ण विवरणमा एउटा अक्षरले पनि इतिहासको व्याख्यामा आकाश–जमीनको फरक पर्ने अनेक दृष्टान्त छन्।

लिच्छविकालीन गैर–लिच्छवि राजा अंशुवर्माका अभिलेखहरूमा उत्तराधिकारीका रूपमा देखिएका उदयदेव (राजा शिवदेवका पुत्र) राजा भए वा हुन सकेनन् भन्ने निर्क्योल गर्न नसकिएको अवस्थामा उदयदेवले राजाका हैसियतले राखेको अभिलेख चित्लाङमा भेटिएपछि इतिहासको धेरै कुरा खुलेको थियो।

हावापानीले खिइएका शिलालेख पढ्न नसकेर इतिहासका कतिपय पक्ष जान्नबाट हामी बञ्चित छौं। जमीनमुनि पुरिएका शिलालेखहरू त त्यसै पनि अप्राप्य छन्, भएका शिलालेख पनि चिन्न नसकेर वा महत्व नबुझेर सिंढी वा अन्य प्रयोजनका वस्तुसरह बनेका छन्।

कतिका लागि शिलालेखहरू हतियार उद्याउने ढुंगा भएका छन् भने कसैका लागि गुच्चा खेल्दा ठोकाउने ठाउँ। इतिहास अध्ययनको स्रोतसामग्रीका रूपमा रहेका शिलालेखका हरेक अक्षरको महत्व हुने भए पनि अज्ञानता र बेवास्ताका कारण वाक्य र अनुच्छेद नै टुट्ने, फुट्ने वा खिइने क्रम जारी छ।

नेपालमा शिलालेख अध्ययनको थालनी १९३७ सालमा भारतका पण्डित भगवानलाल इन्द्रजीबाट भएको थियो। उनले यत्रतत्र छरिएका शिलालेखमध्येबाट १५ वटाको उतार लिएर प्रकाशन गरेका थिए। त्यसपछि बेलायतका सेसिल बेण्डालले चारवटा र फ्रान्सका सिल्भाँ लेभीले २१ वटा अभिलेखको उतार प्रकाशन गरे।

विदेशीहरूले थालेको नेपालको शिलालेख अध्ययनलाई त्यसपछि नेपाली र विदेशी विद्वानहरूले व्यक्तिगत तथा संस्थागत रूपमा अगाडि बढाए। अभिलेख खोज्ने, पढ्ने र व्याख्या गर्ने कार्य अहिले पनि जारी छ।

एउटा शिलालेखको अध्ययन/व्याख्यामा अर्को शिलालेख सहायक हुने भएकोले हरेक शिलालेख महत्वपूर्ण हुन्छन्। यस्ता सबै प्रकारका प्राचीन कलावस्तुहरूको रेखदेख गर्ने अधिकार पाएको निकाय पुरातत्व विभागसँग भने कहाँबाट, कहिले, कतिवटा अभिलेख प्राप्त भए र ती कहाँ गए या फेरि कहिले हराए भन्ने लगतसम्म छैन।

सुरक्षित ठाउँमा लगिएका शिलालेख, मूर्ति वा अन्य कलावस्तुहरू पनि भाँचिने वा टुटफुट हुने अवस्थामा राख्ने गरिएबाट भन्न सकिन्छ, तिनलाई हामीले बुझन सकेनौं वा चाहेनौं।

प्रतिकृया दिनुहोस