निर्वाचन केन्द्रमै मतगणना हुनुपर्छः पूर्व प्रमुख निर्वाचन आयुक्त उप्रेती
पूर्वप्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले स्थानीय तहको निर्वाचनको मतगणना मतदान केन्द्रमै गर्न मिल्ने गरि स्थानीय तह निर्वाचन ऐनमा संशोधन गर्नुपर्ने सुझाव दिएका छन्।
शुक्रबार रिपोर्टर्सको साक्षात्कारमा बोल्दै पूर्व प्रमुख आयुक्त उप्रेतीले निर्वाचन केन्द्रमै मत गणना भए परिणाम चाँडै आउने र विवाद नहुने बताए ।
उनले भने, “मतपरिणाम अन द स्पट गणना गर्दा राम्रो हुन्छ, मतपत्र बोकेर सदरमुकाम धाउने काम गर्नुहुँदैन, यस्तो भयो भने ३ घण्टाभित्रै निर्वाचनको परिणाम आउँछ।”
उनले विश्वका धेरै देशहरुमा स्थानीय तहको निर्वाचनको मतगणना निर्वाचन केन्द्रमै गरिने गरेको उदाहरण पेश गर्दै भने, “हाम्रो देशमा पनि अब यसलाई लागु गर्नुपर्छ ।”
धेरै लामो समयपछि हुन लागेकाले यो निर्वाचन महत्वपूर्ण भएको बताउँदै उनले थपे, “८५ लाख नयाँ मतदाता छन्, त्यसैले कुनैपनि स्थानमा निर्वाचन रोक्नुहुँदैन्, तर रोक्नुहुँदैन भन्ने नाममा लोकतन्त्रमा जबरजस्ती गर्ने कुरा पनि आउँदैन्।”
उनले राजनीतिक दलहरुले चुनाव गराउन नसकेर भन्दा पनि नचाहेर निर्वाचनमा ढिलाई भएको आरोप लगाए।
“लोकतन्त्रको जग हाल्ने, लिडरसिप चयन गर्ने, ४० प्रतिशत महिलाहरुले उम्मेद्वारी दिने अवसर भएकोले यो मौकालाई कसैले पनि खेर फाल्नुहुँदैन्।”
उनले स्थानीय तहको निर्वाचनमा १५ हजार महिला उम्मेद्ववार हुने भन्दै निर्वाचनको लागि वातावरण बनाउनको लागि नेताहरु गाउँगाउँ पुग्नुपर्नेमा जोड दिए ।