निर्वाचन तयारीका लागि नेता, कार्यकर्ता गाउँ पसे
स्थानीय निकायको निर्वाचनको मिति नजिकिँदै गर्दा पाल्पाका मुख्य राजनैतिक दलका नेतादेखि कार्यकर्तासम्मले मतदातालाई आफ्नो पकडमा राख्न, छलफल, अन्तरक्रियाका कार्यक्रमलाई अगाडि बढाएका छन् ।
दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रका नेता-कार्यकर्ता आ–आफ्ना पार्टी नेतृत्व गर्ने दाबी गर्दै गाउँ पसेका छन् ।
"मतदातामा आफ्नो प्रतिनिधि चयन गर्न आतुर भएको देखियो त्यसैले निर्वाचनका लागि राम्रो वातावरण बन्दै गएको छ" एमाले जिल्ला सदस्य कमल पौडेलले भने ।
एकातर्फ निर्वाचन लामो समयपछि हुनु, अर्कोतर्फ संविधान सभाद्वारा निर्मित संविधानले स्थानीयत तहलाई धेरै अधिकार दिएकाले गाउँपालिकाको प्रमुख, उपप्रमुख, सदस्य, नगरपालिकाको प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, सदस्य, महिला, दलित, प्रतिनिधि बन्नका लागि आ–आफ्नो पार्टीमा टिकटका लागि लबिङ गर्नेहरु पनि उत्तिकै छन् ।
यसैक्रममा केही नेता, कार्यकर्ता आफू र आफ्नो पार्टीले अहिलेसम्म गरेका काम र संविधान निर्माणका क्रममा आफ्नो पार्टीले खेलेको भूमिकाका विषयमा बुझाउन जनताको घरदैलोमा पुगेका बखत, केही नेता सदरमुकाममा नै बसेर चिया गफमा आफ्नो राजनैतिक विवरण बताउँदै आफूले नै टिकट पाउनुपर्ने दाबी गर्नेहरु समेत भेटिएका छन् ।
नेपाली काँग्रेसको दोस्रो चरणको कार्यक्रम सकिएको क्षेत्र नं १ का क्षेत्रीय सभापति सन्तोष थापाले बताए । गाउँपालिका भइसकेपछि पनि गाउँपालिकाअन्तर्गतका पार्टीका क्षेत्रीय प्रतिनिधिको भेला सम्पन्न भइसकेको छ ।
नेकपा एमालेले पनि तेस्रो चरणको कार्यक्रम बनाएर कार्यकर्ताको घरदैलोमा जाँदैछ । उम्मेदवारबारे जिल्ला कार्यसमितिको बैठकबाट निर्णय गरिने एमालेले जनाएको छ ।
संविधान जारी भएपछि मुलुकको राजनैतिक घटनाक्रमदेखि जनतालाई आर्थिक रुपमा कसरी बलियो बनाउने हो भन्ने विषयमा गाउँ जागरणको कार्यक्रम सकिएको नेपाली काँग्रेसका जिल्ला सभापति वीरबहादुर रानाले बताए ।
रासस