रिपोर्टबिहिवार, चैत्र १०, २०७३

भोकको तस्वीर

ओमआस्था राई

ऋणमा डुबेको एक दलित परिवारसँग कुपोषणका कारण मृत्युको मुखमै पुगेकी छोरी बचाउने उपाय छैन ।

ललितपुरको इँटाभट्टामा काम गर्ने चुनादेवी र उनकी दुई वर्षीय कुपोषणग्रस्त छोरी बुद्धिमाया । तस्वीर: ओमआस्था राई

बुद्धिमाया भर्खरै दुई वर्षकी भइन् । राम्ररी सिधा बस्न नसक्ने यी नानी कोक्रोमा सुतिरहन्छिन, निष्प्राण झै ।

दाङका ६० वर्षीय नवराज विश्वकर्मा र उनकी पत्नी चुनादेवी ललितपुरको इँटा भट्टामा काम गर्छन् । चार छोरीपछि यो दलित दम्पत्ति छोराको आशमा थियो । तर जन्मिइन्, बुद्धिमाया । पाँचौ छोरी ।

भर्खरै ४३ पुगेकी चुनादेवी उमेरभन्दा धेरै पाको देखिन्छिन् । लगातार चार पटक सुत्केरी भइसकेकी चुनादेवीको स्वास्थ्य अत्यधिक श्रम र पोषिलो खानाको अभावमा पाँचौ सन्तान जन्माउन योग्य थिएन । परिणामस्वरुप बुद्धिमाया कम तौलकी जन्मिइन् ।

नेपालमा कुपोषणको असर देख्न धेरै टाढा जानु पर्दैन । राजधानीबाट ५ किमी पर बडिखेलमै रहने यस्ता श्रमिक परिवारका धेरै बालबालिका कुपोषणको शिकार भएका छन् भने वयस्कहरुलाई पनि पेटभरी खान पुग्दैन ।

बुद्धिमाया जन्मनुअघि भारतमा मजदुरी गर्न जाने गर्थे नवराज । विदेशको कमाई पनि अपुग भएपछि उनले गरिबी निवारण कोषबाट रु १८ हजार ऋण लिएर दुईवटा बाख्रा किने । कोषलाई रु ७ हजार फिर्ता गरिसकेका उनले आगामी मंसीरसम्म सम्पूर्ण रकम चुक्ता गरिसक्नुपर्ने छ । त्यही ऋण तिर्ने रकमको जोहो गर्न उनी काठमाडौंको इँटा भट्टामा आइपुगेका हुन् ।

आमा चुनादेवीको हत्केलामा बुद्धिमायाको कुपोषणग्रस्त हात । 

“बाख्रा पालन गरेपछि बच्चाहरुलाई पेटभरी खुवाउन सकुँला जस्तो लागेको थियो,” नवराज भन्छन, “तर सोचेजस्तो हुँदो रहेनछ ।”
एउटा इँटा बनाए वापत एक रुपैयाँ पाउने नवराजले काठमाडौं आएको चार महीना पुग्दासम्म पनि वचत गर्न सकेका छैनन् । “कमाएको जति सबै यिनीहरुलाई ख्वाउनमै सकिन्छ, चिन्ताले राति निद पर्दैन,” नवराजले भने ।

ऋण तिर्न सकिएन भने दाङमा कसरी मुख देखाउने भन्ने चिन्ता पनि छ नवराजलाई । बाख्राबाट अहिलेसम्म आम्दानी हुन सकेको छैन । “मसँग भएका सरकारी बाख्रा हुन ती बेचौं भने पनि जेल हाल्छन् होला,” उनले भने ।

इँटा उद्योगमा काम गर्ने मजदुरका बालबालिका लागि पढाईको व्यवस्था मिलाउने एउटा गैर सरकारी संस्थाले बुद्धिमायाको अवस्था देखेपछि उनलाई ललितपुरस्थित पोषण पुनस्र्थापना केन्द्रमा भर्ना गराएको थियो । दुई महीनामा बुद्धिमायाको तौल केही बढ्यो पनि तर उनलाई थप स्वास्थ्य समस्या पनि देखिएको छ । केन्द्रकी सुनिता रिमाल भन्छिन, “उनका अभिभावकहरु पोषिलो खाना किन्न सक्ने र औषधोपचार गराउनसक्ने अवस्थामा छैनन् ।”

छोरीलाई अझै केही महीना केन्द्रमै राख्न भनिए पनि चुनादेवीले उनलाई घरै लगेकी छन् । उमेर अनुसार ९ केजी हुनुपर्ने बुद्धिमायाको तौल जम्मा ४.३ किलो मात्रै छ । क्लान्त र दुर्बल बुद्धिमायाको अनुहारको छाला चाउरी परेको छ, करङ बाहिरै देखिन्छ ।

एक साताअघि चुनादेवीलाई भेट्दा उनी आफ्नी छोरीलाई चम्चाले दुध खुवाउँदै थिइन् । “मलाई थाहा छ, यो धेरै बाँच्दैन,” चुनादेवीले भनिन् “यो धर्तीमा छोटो समयका लागि आएकी रहिछ, विचरी !”

प्रतिकृया दिनुहोस