टिप्पणीबिहिवार, चैत्र १०, २०७३

अवसरवादी राजनीति अर्थात् कमल थापा

शेखर खरेल

जिन्ना र सावरकर जस्तै राजनीतिक सिद्धान्त र व्यवहार पटक्कै मेल नखाने कमल थापाको मिल्ने एउटै कुरा छ– धर्मको आडमा चरम अवसरवादी राजनीति।


२६ फागुनमा संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापा राष्ट्र्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रपति भवन शीतलनिवासमा शपथ लिंदै। तस्वीर: रासस

जब राजनीति सामान्यजनको समझभन्दा बाहिर पुग्छ, एउटा आहानको रूपमा भन्ने गरिन्छ, 'यो राजनीतिमा पोलिटिक्स घुसेको हो।' नेपालमा बेलाबखत राजनीतिमा पोलिटिक्स घुसिरहन्छ, जसलाई सामान्यजनको त कुरै छाडौं राजनीतिक पण्डितहरूलाई समेत अर्थ्याउन कठिन पर्न सक्छ। राजनीतिमा कसरी पोलिटिक्स घुस्दोरहेछ, भर्खरैको एउटा राजनीतिक घटनाक्रम हेरे काफी हुन्छ। 

संसद्मा दर्ता संविधान संशोधन विधेयकका प्रखर विरोधी कमल थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नेतृत्व लिंदै हालै मात्र सरकारमा प्रवेश गरेका छन्। हिजो प्रतिपक्ष आज सत्तासीन हुनु र आजका सत्तासीन भोलि सत्ताबाट बाहिरिनु संसदीय व्यवस्थाका स्वाभाविक अवयव हुन्।

तर, कमल थापाको सत्तारोहण संसदीय व्यवस्थाको मर्म वा नियमितता भन्दा फरक छ। उनलाई जुन प्रयोजन अर्थात् संशोधन विधेयकका पक्षमा दुईतिहाइ जुटाउनका लागि भनी सरकारमा प्रवेश गराइएको छ, त्यसको विपरीत थापा स्वयंले चाहिं सार्वजनिक रूपमै आफ्नो पार्टी संशोधनको विपक्षमा उभिने र मतदान गर्नु परे सरकारबाटै बाहिरिने घोषणा गरिदिएका छन्।

अर्को रमाइलो संघीयताका विरोधी थापाले अन्य मन्त्रालय छाडी स्थानीय विकास एवं संघीय मन्त्रालय नै रोजेका छन्। सत्तारोहण सँगै 'नेपालको संघीयता दक्षिणएशियामै उत्कृष्ट' भन्दै स्थानीय निर्वाचन सफल बनाउन सबैमा आह्वान पनि गरेका छन्।

थापाको राजनीतिक विचारधारा वा भाष्यसँग उनको राजनीतिक व्यवहार पटक्कै मेल खाँदैन। राजसंस्था र हिन्दू राष्ट्रको पुनर्स्थापना र संघीय व्यवस्थाको खारेजीका हिमायती उनको सिद्धान्ततः राजनीतिक भाष्य संवैधानिक राजतन्त्र र हिन्दू अधिराज्य मर्म बोकेको २०४७ सालको संविधान हो।

जसलाई हिन्दूत्व र राजसंस्थाको राजनीतिक भाष्यको रट लगाउने थापालगायतका पूर्वपञ्चहरू भन्दा पनि आफूलाई बीपी कोइराला, गणेशमानसिंह र कृष्णप्रसाद भट्टराईका सच्चा अनुयायी ठान्ने प्रकाश कोइराला, पीएल सिंह, देवेन्द्र नेपालीलगायतका कांग्रेसजन मार्ग निर्देशक दस्तावेज बताउँदै आएका छन्।

तर यी बागी कांग्रेसजनका आस्थाको ठीक विपरीत थापाले भने असोज २०७२ मा संविधान जारी भएयता आफूलाई संविधानका प्रखर हिमायतीका रूपमा प्रस्तुत गर्दै आएका छन्।

पूर्ववर्ती केपी ओली सरकारका परराष्ट्र मन्त्रीको हैसियतमा थापाले अन्तर्राष्ट्रिय समुदायमाझ नयाँ संविधानको विशिष्टताको व्याख्यानमा कुनै कन्जुस्याइँ गरेनन् पनि, भलै उनी संविधानको मुख्य आधारशिला गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विरोधी नै किन नहुन्।

व्यक्तिको जीवनदर्शन एकथरी र राजनीतिक 'आइडियोलोजी' अर्कोथरी किन हुन्छ र यसको अभीष्ट के हुन सक्छ भन्ने विषयमाथि भारतका राजनीतिक मनोविज्ञ आशिष नन्दी तार्किक विश्लेषण राख्ने गर्दछन्, जसले राजनीतिमा किन र कसरी पोलिटिक्स घुस्न जाँदो रहेछ भन्ने कुरा बुझ्न सघाउँछ।

नन्दी कुनै पनि भाष्य वा आइडियोेलोजीलाई राजनीतिको भावभूमिको रूपमा हेर्छन्। अर्थात्, मानिस जे जस्तो विचार, दर्शन वा भाष्य सार्वजनिक रूपमा बताइरहेको हुन्छ, यथार्थमा उसको व्यक्तिगत सोच वा मान्यता त्यस अनुकूल नहुन पनि सक्दछ। एउटा कुशाग्र राजनीतिज्ञले भाष्यलाई सार्वजनिक खपत वा कुनै निश्चित उद्देश्य पूर्ति निम्ति उपयोग गरिरहेको पनि हुन सक्छ।

नन्दी भाष्य एकथरी र व्यवहार अर्कोथरी भएका अनेकौं राजनीतिज्ञहरूको दलिल प्रस्तुत गर्छन्, जसमध्ये उनले बरोबर नाम लिने दुई दृष्टान्त हुन्, दक्षिणएशियाका धुरन्धर धार्मिक भाष्यकार मोहम्मद अली जिन्ना र विनायक दामोदर सावरकर। भारतको स्वतन्त्रता संग्रामको 'भारत छोड' आन्दोलनका यी दुई महान् अभियन्ताहरू मुलुक स्वतन्त्रताको सँघारतिर आइपुग्दा भने दुई ध्रुवमा उभिन पुगे।

सन् १९२३ मा 'हिन्दूत्व' को दर्शनमार्फत सावरकरले हिन्दूशासित राज्यको कल्पना गरिसकेका थिए, जसलाई हिन्दूवादी दक्षिणपन्थी राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) र उसको राजनीतिक घटक भारतीय जनता पार्टीले आफ्नो मार्गनिर्देशक सिद्धान्त बनाएको छ। उता, इस्लामिक भाष्यका आधारमा जिन्ना छुट्टै राष्ट्र पाकिस्तान निर्माण गर्न सफल बने।

नन्दीले हिन्दूत्वका भाष्यकार सावरकर र इस्लामिक राष्ट्र पाकिस्तानका पिता (कायदे आजम) जिन्नाबारे उजागर गर्दै आएका रोचक तथ्य चाहिं सार्वजनिक खपत विपरीतका व्यक्तिगत सोच र व्यवहार हुन्। नन्दीको मत अनुसार सावरकर र जिन्ना दुवै पश्चिमी जीवनशैलीबाट पल्लवित नास्तिक थिए।

सावरकर त कुन हदसम्मको नास्तिक थिए भने उनी गाईलाई पवित्र मानिनुका पछाडि कुनै तूक नरहेको बताउँथे। यतिसम्म कि, आफ्नी पत्नीको अत्येष्टिमा समेत हिन्दू विधि अपनाउन अस्वीकार गरे। उता, चेन स्मोकर र बलरुम डान्सका सौखिन जिन्नाको जीवनशैली कुनै मुल्लाह वा शेखको जस्तो नरहेर अभिजात्य युरोपेलीको जस्तै थियो।

थापाको 'हिन्दूत्व'
जिन्ना जस्तै कमल थापाको व्यक्तित्व एक शिक्षित अभिजात्य वर्गको हो। थापाको राजनीतिक विगत पञ्चायतको विद्यार्थी घटक राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलको हो, जुन संगठन कुनै मूलमा परेको सन्तान झैं सत्ताको पुल्पुल्याइका कारण आफ्नो जन्मको केही वर्षभित्रै वितण्डाकारी मण्डलेबाट बदनाम हुन पुग्यो।

थापाको अर्को पृष्ठभूमि खेलाडीको हो। फूटबल र टेनिसका राम्रा खेलाडी उनी अहिले पनि खेलकुद गतिविधिमार्फत आफूलाई शारीरिक रूपमा चुस्त राख्छन्। तर, पञ्चायतका एक से एक खेलाडी रूपान्तरित व्यवस्थामा असान्दर्भिक हुँदै मैदान छाडिरहेका बखत उनी आफ्ना भाष्यका विपरीत पनि सत्ता–गठबन्धनका सदावहार खेलाडी बन्न सफल देखिन्छन्।

दोस्रो संविधानसभा निर्वाचनको अनुभवले हुनुपर्छ, आसन्न स्थानीय निर्वाचनमा राप्रपाले हिन्दू जनमतलाई नै आफ्नो भोट ब्यांक बनाउने निधो गरिसकेको छ।

राजसंस्थाको पुनर्स्थापनालाई सिद्धान्ततः स्वीकारे पनि उसले यसलाई जगेडा चक्का (स्पेयर टायर) झैं परिआएको बखत मात्र प्रयोग गर्ने गरेको छ।

उता, संघीयताको अरिङ्गाले गोलामा ढुङ्गा फ्यालेर 'प्रतिगामी' मा दरिनुपर्ने भयका कारण उसले संघीयताविरुद्ध चर्को कुरा गरिरहनुपर्ने न आँट गरेको छ, न आवश्यकता महसूस नै।

देशको ठूलो भोट ब्यांक हिन्दू जनमतलाई थापाको राप्रपा जति निर्वाचन आयोगमा दर्ता हिन्दू नामधारी कुनै पनि दलले आजसम्म 'क्यास' गर्न सकेका छैनन्।

उनी भाजपाकी उमा भारती वा महन्त आदित्यनाथ झैं थापा गेरुबस्त्रधारी होइनन्। उनले हिन्दू धर्मका बारेमा प्रवचन वा व्याख्यान दिएको पनि सुन्न पाइँदैन। बराह क्षेत्रको कुम्भस्नानका बेला थापाको शरीरमा जनैसम्म पनि देखिएन।

हिन्दूत्वको नाममा भोट माग्ने थापा र उनका राजनीतिक मण्डलीले महाभूकम्पपछि सोत्तर हिन्दू मन्दिरहरूको पुनःनिर्माणको नेतृत्व लिएको वा सहयोग पुर्‍याएको पनि सुनिएन।

हिन्दू धर्मभीरुहरूकै ढल मिसिएर दूषित बनेकी पतितपावनी वागमतीको सरसफाइमा पनि राप्रपाको अग्रसरता देखिंदैन। तैपनि मुलुकको हिन्दू जनमतलाई सबैभन्दा तरङ्गित थापाले नै गर्दै आएका छन्। र, त्यही मतको आधारमै राप्रपाले सरकार बनाउने र गिराउनेसम्मको हैसियत राखेको छ।

थापाको राजनीतिमा धर्मको उपयोगितालाई लिएर भर्खरै पार्टी त्यागेका वरिष्ठ नेता प्रकाशचन्द्र लोहनीले विज्ञप्तिमार्फत भने, 'राजसंस्था र हिन्दू धर्मप्रतिको भावनात्मक समर्थनलाई सत्ता स्वार्थको लागि प्रयोग गरिंदैछ।' कमल थापा हिन्दूत्वको भाष्यको जगमा अवसरवादिता भजाइरहेका छन्।

मधेशी पहिचानवादी दलहरूमध्येको मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) का विजय गच्छदार पनि थापा झैं सत्ताका सदावहार साझेदार बन्दै आएका छन्।

अर्थात्, राजनीतिमा कसरी पोलिटिक्स मिसिंदो रहेछ भन्ने प्रश्नको उत्तर तपाईंले पनि विद्वान राजनीतिक मनोविज्ञ नन्दीको विश्लेषण र दृष्टान्तमा भेट्नु भयो कि?

प्रतिकृया दिनुहोस