राजनीतिक दलसम्बन्धी विधेयक पारित, तीन प्रतिशत थ्रेसहोल्ड कायम
व्यवस्थापिका संसद्को आजको बैठकले राजनीतिक दलसम्बन्धी विधेयक पारित गरेको छ ।
अब राष्ट्रिय दलको मान्यता पाउन कुनै पनि दलले प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ ३ प्रतिशत र प्रत्यक्षतर्फ १ सिट अनिवार्य रूपमा जित्नुपर्नेछ ।
नयाँ व्यवस्था अनुसार कुनै दलले समानुपातिकतर्फ खसेको कुल सदर मतको ३ प्रतिशत मत ल्यायो तर, प्रत्यक्षमा एक सिट पनि जित्न सकेन भने उक्त दलको प्रतिनिधिसभामा प्रतिनिधित्व हुनेछैन ।
निर्वाचन आयोगले राजनीतिक दलसम्वन्धी ऐनको मस्यौदामा ३ प्रतिशत थ्रेस होल्ड राख्न प्रस्ताव गरेको थियो ।
साना दलहरूको विरोधका बीच थ्रेसहोल्ड सम्बन्धी विधेयक संसद्बाट बहुमतले पारित भएको हो ।