आनन्द बजारमा हराएको प्रहरीको पेस्तोल फेला
१४ दिनअघि कञ्चनपुरको आनन्द बजारमा भएको झडपका क्रममा हराएको नेपाल प्रहरीको पेस्तोल र त्यसको म्यागजिन भेटिएको छ ।
कल्भर्ट निर्माणका विषयलाई लिएर स्थानीय नेपाली र भारतीय सुरक्षाकर्मीबीच गत २६ फागुनमा कञ्चनपुरको पुनर्बास–८ आनन्द बजारमा झडप भएको थियो ।
त्यसक्रममा प्रहरी सहायक निरीक्षक माधव भट्टसित रहेको चिनियाँ एक थान पेस्तोल र सात राउन्ड गोली सीमा क्षेत्रमा हराएको थियो । सुदूरपश्चिम क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक रोमेन्द्रसिंह देउजाले हराएको पेस्तोल र म्यागजिन भेटिएको जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट हराएको पेस्तोल खोज्न छानबिन टोली गठन गरी खटाइएको थियो । प्रहरी स्रोतका अनुसार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक हिरेन्द्र रोकायाको नेतृत्वमा खटिएको प्रहरी टोलीले केही दिनअघि पेस्तोल फेला पारेको हो ।
कल्भर्ट निर्माणका विषयमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को गोली लागेर पुनर्बास नगरपालिकाका गोविन्द गौतमको मृत्यु भएको थियो । सरकारले गौतमलाई शहीद घोषणा गरिसकेको छ ।
घटनामा स्थानीयवासी टीकाराम चापागाईँ गम्भीर घाइते भएका थिए । उनको उपचार जारी छ । आनन्द बजार भएर नेपाल–भारत आवागमन अझै सहज हुन सकेको छैन । घटनापछि नेपालीले भारतीय सीमावर्ती बसही बजारमा किनमेलमा जान समेत छाडेका छन् । आनन्द बजारमा सशस्त्र प्रहरीको अस्थायी चौकी खडा गरेर सुरक्षा प्रबन्ध मिलाइएको छ ।
रासस