जहाँ पुल तर्दा पैसा तिर्नुपर्छ
नदी तर्दा पुलबाट तरेबापत पैसा तिर्नुपर्छभन्दा पत्यार नलाग्न सक्ला, तर कञ्चनपुर–कैलालीको सीमा छुट्याउने मोहना नदीको पुलमा ओहोरदोहोर गर्दा रकम बुझाउनुपर्ने बाध्यता रहेको छ ।
कञ्चनपुरको पुनर्वास नगरपालिका–९ अमरबस्तीका नागरिक धनगढीलगायत अन्य स्थानमा जान मोहना नदीमा बनाएको बाँसको अस्थायी पुल तरेबापत वर्षौंदेखि पैसा तिर्दै आएका छन् । वारि कञ्चनपुरको अमरबस्ती र पारि कैलालीको बरहरा बस्तीको बीचमा पर्ने नदीमा स्थानीयवासीले समूहमार्फत अस्थायी पुल बनाएका छन् ।
पुलमा ओहोर–दोहोर गरेबापत प्रतिमोटरसाइकल रु २०, साइकल रु १० र प्रतिव्यक्ति रु पाँच रुपैंया तिर्नुपर्ने हुन्छ । “नदीमा पुल नभएको भए स्थानीयवासीलाई ओहोर–दोहारमै समस्या पथ्र्यो ।” पुलका चौकीदार सुन्दर चौधरीले भने–“त्यसैले पुल तर्दा गाउँलेले सधैँ रकम तिर्नुपर्ने बाध्यता छ ।”
अमरबस्तीका किसानले उत्पादन गरेको तरकारी बिक्री–वितरणका लागि धनगढीलगायत बजारमा जान पुलका कारण सहज भएको चौधरीको भनाइ छ । “पुल नभएको भए गाउँमा उत्पादन गरिएको तरकारी बजारमा पुर्याउन पनि गाह्रो थियो ।” चौधरीले भने–“बर्सातमा पुल हुँदैन, घुमाउरो बाटो प्रयोग गर्नुको विकल्प रहँदैन ।”
पुलबाट दैनिक रु ६ सयदेखि ९ सयसम्म रकम सङ्कलन हुने गरेको उनले बताए । “पुनर्वास घटनाका बेला एक दिनमै रु ६ हजार सङ्कलन भयो ।” उनले भने–“झोलुङ्गे पुलका लागि स्थानीयवासीले माग गरेको भए पनि सुनुवाइ भएको छैन ।”
सङ्कलन भएको रकम बर्सातपछि नयाँ अस्थायी पुल निर्माणमा खर्च हुने गरेको स्थानीयवासीले बताए । यसरी हरेक वर्ष नयाँ अस्थायी पुल बनाउने र वर्षतfमा नदीले बगाएर समस्या भइरहेको स्थानीयवासीको गुनासो रहेको छ । रासस