रौतहटमा शिक्षकमाथि गोली प्रहार
रौतहटमा एक शिक्षकमाथि गोली प्रहार भएको छ ।
रौतहटको विश्रामपुर ८ निवासी राम अयोध्या राय यादवमाथि राति १ बजे घरमा सुतिरहेका बेला झ्यालबाट गोली प्रहार भएको हो ।
मकवानपुरमा निमावि शिक्षक रहेका यादव विदामा घर आएको वेलामा अज्ञात व्यक्तिले प्रहार गरेको गोली टाउकोमा लागेको र उनको चुरे हिल अस्पताल हेटौँडामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
गाउँमा जमिन नाप्ने र लेखापढी व्यवसायको काम समेत गर्ने भएकोले जमिनको विवादमा कसैले यादवमाथि गोली प्रहार गरेको हुनसक्ने रौतहटका प्रहरी प्रमुख यज्ञविनोद पोखरेलले बताए ।
घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सञ्जय मित्र, रौतहट