भैरहवामा अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्य ठप्प, नेपाली कम्पनी अलग हुनसक्ने
भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्य ठेकेदार विवादले गर्दा ठप्प भएकोे छ ।
विमानस्थल निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी ‘नर्थ वेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्सट्रक्सन’ र चिनियाँ कम्पनीसँग सब–कन्ट्र्याक्ट गरी काम गरिरहेको नेपाली कम्पनी ‘नर्थ वेस्ट इन्फ्रा नेपाल’ बीच रकम लेनदेनको विषयमा विवाद हुँदा ३ चैतदेखि निर्माणको काम ठप्प भएकोे हो ।
बीचमै काम रोकिदा रु ८ अर्ब ५५ करोड लागतमा निर्माण शुरु भई सन् २०१७ को डिसेम्बरमा सम्पन्न हुनुपर्ने विमानस्थलको निर्माण लागत र समयावधि बढ्दै गएको छ ।
यसैबीच आयोजनाको लगानीकर्ता एशियाली विकास बैंकको पहलमा दुबै ठेकेदारबीच बसेको बैठकमा १२ चैतसम्म विवाद समाधान गर्ने गरी सहमति भएको छ ।
सहमतिका बुँदामा १२ चैतभित्र नेपाली कम्पनीले अहिलेसम्म गरेका कामको मूल्याङ्कन र सबै हिसाबकिताब सुल्झाई चाहेका बखत अलग हुन सक्ने उल्लेख रहेको आयोजना निर्देशक ओम शर्माले जानकारी दिए ।
“१२ गतेभित्र केही फरक सहमति भए बेग्लै कुरा नभए नेपाली कम्पनी आफ्नो हिसाबकिताब गरेर अलग हुनसक्छ,” शर्माले भने ।
नेपाली कम्पनीको कार्य सन्तोषजनक नभएको, सब–कन्ट्र्याक्टर तोक्दा चिनियाँ कम्पनीले मापदण्ड पूरा नगरेको भन्दै एडिबीले पनि नेपाली कम्पनी परिवर्तन गर्न दबाब दिइरहेको थियो ।
चिनियाँ कम्पनीले भइसकेका कामको रकम उपलब्ध नगराएको, विभिन्न बहानामा ६ महिनादेखि रकम नदिएकोले कामदार परिचालन गर्न सकिने अवस्था नरहेको भन्दै नेपाली कम्पनीले मुल प्रवेशद्वारमा अवरोध गरी सबै काम ठप्प पारेको छ ।
उता चिनियाँ कम्पनीले भने कामको प्रतिफल नदेखिएको र निकासीमा समस्याले माग भए अनुसारको रकम भुक्तानी गर्न नसकेको दाबी गरेको छ ।
विवादका बीच हालसम्म विमानस्थल निर्माणको २७ प्रतिशतमात्रै काम सम्पन्न भएको छ ।
‘नर्थ वेस्ट इन्फ्रा नेपाल’मा एमाले नेता झलनाथ खनालका छोरा निर्भिक खनाल, युवा संघका केन्द्रीय उपाध्यक्ष राजु गुरुङ, शक्ति डंगोल, फूर्वा शेर्पा, सुनिल रायमाझी लगायतको साझेदारी छ ।
दीपक ज्ञवाली, बुटवल