कला/साहित्यमंगलवार, चैत्र ८, २०७३

सीमा संवेदना: नाटकघरमा 'लू'

शंकर तिवारी

काठमाडौं, अनामनगरस्थित मण्डला नाटकघरमा 'लू' मञ्चन हुनु एकदिन पहिले २६ फागुन कञ्चनपुर जिल्लामा सीमा विवादमा भारतीय सीमा सुरक्षा बलको फायरिङमा एक नेपाली युवाले ज्यान गुमाए। सीमावर्ती, सीमाञ्चल वा देहात जे भनिए पनि त्यहाँ बस्ने विपन्न र सीमान्तकृत नागरिक नै हुन्।

नयनराज पाण्डेको उपन्यास लू राज्यबाट उपेक्षित र सीमापारिबाट उत्पीडित तिनै जनताको कथा हो, जसको नाट्यरुपान्तरण गरिएको छ।

नाटकघरमा लू चल्ने तयारी थालिनु, सीमामा हिंसा हुनु र मारिएका व्यक्ति संसद्बाटै शहीद घोषित गरिनु अनौठो संयोग मान्न सकिन्छ। नाटक हेरिरहँदा दर्शकमा कञ्चनपुर घटनाको सम्झना आउनुले कृति र नाटक दुवैको सान्दर्भिकता पुष्टि गर्छ।

उपन्यास लू पढ्नै बाँकी भएकाका लागि नाटक लू नयाँ खुराक हुने नै भयो, पढिसकेकाले भने नाटक तटस्थ भावले हेर्न सक्नुपर्दछ, किनकि उपन्यासले उठान गरेका सबै कुरा डेढ घण्टाको नाटकमा प्रस्तुत गर्न सहज थिएन र छैन पनि।

भाग्यमा केही पनि राम्रो नभएका, बहुतै दुःख पाएका र कहिल्यै सन्तोषको सास फेर्ने मौका नपाएका तर पनि हँसिमजाक गरिरहेका पत्थरपुखा गाउँका बासिन्दाको जीवनमा जब राजनीति प्रवेश गर्छ, अनि बस्ती उजाडिन्छ। मानवीय संवेदना र प्रेम जात, धर्म, राजनीतिभन्दा ठूलो हो भन्ने सन्देश दिन नाटक सक्षम छ।

कुनै पनि कृतिलाई सिनेमा वा नाटकमा रुपान्तरण गर्दा मूल कृतिमाथि न्याय भएको विरलै पाइन्छ। त्यस मानेमा लू पनि अपवादमा पर्दैन, जसको स्वीकारोक्ति निर्देशक सरिता साहले पनि गरेकी छन्।

धेरै अग्रजलाई निर्देशनको आग्रह गर्दा उपन्यास भारी मानेर छाडेकाले आफैंले 'आँट गरेको' सरिताको भनाइ छ। सरिताको यो आँटले शान्त हुन नसकेको तराई र सीमावर्ती गाउँका समस्या कलाका माध्यमबाट बहसको मूलधारमा ल्याउन सहायक बनेको छ।

महोत्तरीको सोनामाई टिमकिया गाउँमा जन्मेहुर्केकी रंककर्मी सरिताको निर्देशकका रुपमा लू पहिलो नाटक हो, जसमा उनी प्रभावशाली देखिन्छिन्। पछिल्लो समय रंगकर्मको अध्ययनपश्चात् मात्र यस क्षेत्रमा आउने युवाको संख्या बढ्दो छ। शिल्पी थिएटरकी उत्पादन सरिता पनि यही पंक्तिमा पर्छिन्।

नवोदित निर्देशकका रुपमा कलाकार छनोटदेखि सम्पूर्ण जिम्मेवारी लिनु कम सकस थिएन। तर, पनि सरिताले हिम्मत हारिनन्। शिल्पी, मण्डला, थिएटर भिलेज, एक्टर्स स्टुडियो, ओस्कर कलेजका कलाकारलाई संयोजन गर्दै उनले दुई नयाँ कलाकार भने गाउँबाटै बोलाइन्। मञ्च परिकल्पनामा प्रवीण खतिवडा र भेषभूषामा रञ्जिना शाहले गरेको मिहिनेत तारीफयोग्य छ।

नाटकमा इलैयाको भूमिकामा मिलन डी काप्रीले सहज अभिनय गरेका छन्। बजरंगी (शुलभ पाण्डे), रेडियोलाल (अनिल कुर्मी), अमरपाल (सन्देश शाक्य), नुसरत (आरजु खरेल), चमेली (दीपिका ढकाल), रजिया (सरस्वती अधिकारी) लगायतका कलाकारले चरित्रलाई न्याय गरेका छन्। गोवरी बनेका राजकुमार पंगेनी र टुटे पण्डितमा विवेक तिवारीको भूमिका दमदार छ।

नाटक सकिएपश्चात् दर्शकका मनमा 'यो नाटक त समस्या अल्झाउने र बल्झाउने हाम्रा नेताहरूले पो हेर्नुपर्ने' भन्ने कुरा खेलिरहन्छ। ताण्डव थिएटर नेपाललाई यो सत्कार्यका लागि साधुवाद दिनैपर्छ।

 

प्रतिकृया दिनुहोस