मुसहर बस्ती निर्माण गर्न रु एक करोड अभाव
बर्दिवासमा धुर्मुस सुन्तली फाउन्डेसनद्वारा निर्माणाधीन एकीकृत नमुना मुसहर बस्ती निर्माणका लागि रु एक करोडभन्दा बढी रकमको अभाव देखिएको छ ।
बर्दिवास– १ मा निर्माणाधीन मुसहर बस्तीको ७२ दिनको अवधिमा ८० प्रतिशत निर्माण सम्पन्न भएको र अब पूर्ण रुपमा तयार हुन रु एक करोड ३० लाख अभाव भएको फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस)ले जानकारी दिए ।
सहयोगी हातहरु निरन्तर प्राप्त भइरहेकाले रकम जुट्नेमा आफू विश्वस्त रहेको कट्टेलले बताए ।
कुल रु चार करोड ७८ लाखको लागतमा निर्माण हुने सो बस्ती आगामी नयाँ वर्ष १ का दिन मुसहरलाई हस्तान्तरण गरिने योजनाका साथ काम भइरहेको कुञ्जना घिमिरे (सुन्तली)ले जानकारी दिइन् ।
बस्तीका घरमा छाना, रङ्गरोगन, शौचालय, झ्याल तथा ढोका, खानेपानी, विद्युत् र धारा जडान, घरको अन्तिम प्लास्टर, दृश्यस्तम्भ, बस्तीभित्रको सडकको पिसिसी ढलान जस्ता काम तीव्र गतिमा भइरहेको फाउन्डेसनका परियोजना व्यवस्थापक अर्जुन न्यौपानेले बताए ।
एक सय दिनमा बस्ती निर्माणको काम सम्पन्न गरी मुसहर समुदायलाई हस्तान्तरण गर्ने योजनानुसार बस्तीको २० प्रतिशत काम बाँकी छ भने फाउन्डेसनसँग अब २४ दिन मात्र बाँकी छ ।
गत पुस २५ मा मह जोडीद्वारा शिलान्यास भई तीव्र गतिमा निर्माणाधीन बस्ती निर्माणमा पछिल्ला दुई महिनायता दिनहुँ तीन सय जनाले काम गरिरहेका छन् ।
रासस