प्रहरीसँगको झडपमा राप्रपा वरिष्ठ नेता राणा घाइते
प्रहरीसँगको झडपमा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपति शम्शेर राणा सहिते केही नेता कार्यकर्ता घाइते भएका छन् ।
विधानबाट हिन्दू राष्ट्र र संवैधानिक राजसंस्था हटाउने निर्वाचन आयोगको निर्णय विरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ चैतमा निकालेको विरोध जुलुसमा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको छ । झडपमा परी राप्रपा वरिष्ठ नेता राणासहित केही नेता कार्यकर्ता घाइते भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए ।
निर्वाचन आयोगको कार्यालय घेराउ गर्न पुगेका राप्रपाका नेता तथा कार्यकर्ताहरुले जमलमा निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीसँग झडप भएको थियो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले लाठी र अश्रु ग्यास प्रहार गरेको थियो ।
समान्य घाइते भएका वरिष्ठ नेता राणाले शान्तिपूर्ण तवरले राजनीतिक गतिविधि सञ्चालन गर्दा प्रहरी दमन भएकोमा दुःख व्यक्त गर्दै निर्वाचन आयोगले सो विषयलाई पुनः विचार नगरेमा पार्टी सरकारबाट बाहिरिन सक्ने सङ्केत गरे ।