काँग्रेस ७४ जिल्लामा मात्रै चुनाव लड्न पाउने
३१ वैशाखको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेस ७४ जिल्लामा मात्रै चुनाव लड्न पाउने भएको छ ।
निर्वाचन आयोगले तोकेको समयसीमा भित्र दल दर्ता गर्न नसक्दा डोल्पा जिल्लामा नेपाली काँग्रेस चुनाव लड्न नपाउने भएको हो ।
नेकपा एमाले र माओवादी केन्द्र भने ७५ जिल्लाबाटै चुनाव लड्नेछन् । त्यस्तै चौथो ठुलो दल राप्रपा ६६ जिल्लाबाट मात्रै चुनाव लड्न पाउने भएको छ । राप्रपाले मोरङ, सिरहा, महोत्तरी, धनुषा, रसुवा, बारा, लमजुङ, गोरखा तथा डोल्पाबाट चुनावमा भाग लिन पाउने छैन । त्यस्तै नयाँ शक्ति नेपाल पार्टी पनि ७४ जिल्लाबाट चुनाव लड्नेछ । नयाँ शक्तिले पाल्पाबाट चुनावमा भाग लिन पाउने छैन । नयाँ शक्तिले हालसम्म चुनाव चिन्ह पाएको छैन । मधेस केन्द्रित दल भए पनि सङ्घीय समाजवादी फोरम ६३ जिल्लाबाट चुनाव लड्न पाउनेछ भने मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) ४१ जिल्लाबाट चुनाव लड्नेछ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको विवरण अनुसार सबैभन्दा धेरै दल काठमाडौँमा रहेका छन् । काठमाडौँबाट ४७ राजनीतिक दलले चुनाव लड्नेछन् भने मनाङबाट ६ राजनीतिक दल चुनावी मैदानमा उत्रनेछन् ।
४० भन्दा बढी राजनीतिक दल दर्ता भएको जिल्ला दुई वटा रहेका छन् । काठमाडौँबाट ४७ राजनीतिक दल दर्ता भएका छन् भने पर्साबाट ४० राजनीतिक दल दर्ता भएका छन् । त्यस्तै ३० भन्दा बढी दल भएका जिल्ला १५ वटा रहेका छन् । जसअनुसार मोरङ ३५, झापा ३१, सुनसरी ३५, सप्तरी ३०, सिरहा ३१, सर्लाही ३७, धनुषा ३५, काठमाडौँ ४७, ललितपुर ३४, भक्तपुर ३५, बारा ३६, पर्सा ४०, रौतहट ३५, रुपन्देही ३० र नवलपरासीबाट ३२ दल दर्ता भएका छन् ।
त्यस्तै १० भन्दा कम राजनीतिक दल रहेका जिल्ला ५ वटा रहेका छन् । जसअनुसार मनाङमा ६, मुस्ताङ ७, डोल्पा ९, बाजुरा ९ र डोटीमा ९ राजनीतिक दल दर्ता भएका छन् ।
निर्वाचन आयोगका अनुसार दर्ता गर्न छुटेका राजनीतिक दलले स्वतन्त्र रूपमा उम्मेदवार उठाएर चुनावमा भाग लिन भने सक्नेछन् ।