कला/साहित्यआइतवार, चैत्र ६, २०७३

‘समिरा’लाई वेस्ट फिल्म अवार्ड

हिमालखबर

नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको पाँचौ संस्करण ६ चैतमा सम्पन्न भएको छ ।

मानवअधिकार चलचित्र केन्द्रले आयोजना गरेको महोत्सवमा महोत्सवमा उत्कृष्ट ठहरिएका विभिन्न पाँच विधाका चलचित्रलाई अवार्ड प्रदान गरिएको छ । वेष्ट इन्टरनेशनल फिक्सन फिल्म अवार्ड सार्लट ए रल्फसद्धारा निर्देशित जर्मनी चलचित्र समिराले प्राप्त गरेको छ । त्यसैगरी वेष्ट इन्टरनेशनल डकुमेन्ट्री अवार्ड चिलीका निर्देशक प्याट्रिसियो सान्त्यान्दरले निर्देशन गरेको द शोभेल म्यानले प्राप्त गरेको छ ।

त्यस्तै वेष्ट फिल्म नेशनल फिक्सन फिल्म अवार्ड सेल्नाङ मुगुमले निर्देशन गरेको झालो चलचित्रले प्राप्त गरेको छ भने वेष्ट नेशनल डकुमेन्ट्री अवार्ड देवकी विष्टले निर्देशन गरेको इन सर्च अफ देवकीले प्राप्त गरेको छ । अवार्डसहित प्रत्येक चलचित्रलाई रु.४०/४० हजार नगद प्रदान गरिएको छ ।

त्यसैगरी स्पेनका मार्को विर्यतेसले निर्देशन गरेको डकुमेन्ट्र ५६ र इटालीका स्टेफेनी मौकार्जेल र मेरियम वोब्युरले निर्देशन गरेको टु वल्र्डसले जुरी अवार्ड प्रप्त गरेका छन् ।

महोत्सवमा भारतीय चलचित्र निर्देशक गिरिस कसरावल्ली, ढाका चलचित्र महोत्सवका निर्देशक अहमेद मुज्दबा जमाल, नेदरल्याण्डकी चलचित्रकर्मी क्लेमेन्टाइन एडरभिन र नेपालका चलचित्र निर्देशक तुलसी घिमिरेले जुरी रहेका थिए ।

महोत्सवमा मानवअधिकारका विषयमा विभिन्न ३८ देशका १०१ चलचित्र प्रदर्शन गरिएको थियो । आप्रबासन, लैंगिक समानता, अपाङ्गता भएका व्यक्तिहरु, सीमान्तीकरणमा पारिएका समुदायको मानवअधिकारसँग सम्बन्धित विभिन्न चलचित्रहरु प्रदर्शन गरिएका थिए । चार दिनसम्म काठमार्डौमा सञ्चालन भएको महोत्सवमा फिक्सन, डकुमेन्ट्री, सर्टफिल्म र एनिमेटेड फिल्महरु समावेश थिए ।

महोत्सवलाई राष्ट्रिय मानवअधिकार आयोग र संयुुक्त राष्ट्रसंघीय विकास नियोग (युएनडीपी)का साथै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरुको पनि साझेदारी रहेको थियो ।

प्रतिकृया दिनुहोस