उद्योगी सरावगी फोरममा प्रवेश
स्थानीय तहको निर्वाचन नजिकिदै जादा पर्साका चर्चित उद्योगी विजय सरावगी संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् । फोरम नेपालका तर्फबाट वीरगञ्ज उपमहानगरपालिका प्रमुखको उम्मेदवार उम्मेदवार बन्ने शर्तसहित उनी पार्टी प्रवेश गरेको बुझिएको छ । ।
६ चैतमा पर्साको पोखरियामा आयोजित फोरमको पार्टी प्रवेश तथा आमसभामा अध्यक्ष उपेन्द्र यादवले सरावगीसहित उद्योगी, व्यवसायीलाई अबिर लगाएर स्वागत गरेका हुन् ।
उद्योगी सरावगीसँगै पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरि रौनियार, वीरगञ्ज उद्योग वाणिज्य संघका कोषाध्यक्ष रवि वर्णवाल, जगदम्बा ईन्टरप्राईजेजका रमेश अग्रवाल, महादुर्गा फुड्स प्रालीका अकिंत अग्रवाल, कलश सिमेन्टका अशुंमन अग्रवाल, जगदम्बा ट्रेडिङ कम्पनीका प्रतिक अग्रवाल, राजेश हार्डवेयरका करण अग्रवाल, समाजसेवि ज्योतिलाल कलवारलगायतका उद्योगी, व्यवसायी फोरम नेपालमा प्रवेश गरेका छन । कार्यक्रममा अन्य राजनीतिक दलका नेता कार्यकर्ता पनि फोरम नेपालमा प्रवेश गरेका छन् ।
आमसभालाई सम्बोधन गर्दै फोरम नेपालका अध्यक्ष यादवले सरकारले मधेससँग बेइमानी गरिरहेको आरोप लगाए । उनले राज्य पुनःसंरचना गर्दा मधेशलाई अन्याय गरेको बताए । उनले भने, “५२ प्रतिशत जनसंख्या भएको तराई–मधेसमा २६० वटा स्थानीय तह निर्धारण गरिएको छ तर ४८ प्रतिशत जनसंख्या भएको पहाडमा त्यसको दोब्बर छ ।”
आमसभालाई उपाध्यक्ष लालबाबु राउत, केन्द्रीय सदस्य करीमा बेगम, सांसद् श्रवण अग्रवाल, जिल्ला अध्यक्ष प्रदीप यादवले सम्बोधन गरेका थिए । यो प्रवेश कार्यक्रमलाई फोरम नेपालको स्थानीय तहको निर्वाचनको तयारीका रुपमा हेरिएको छ ।
जियालाल साह, वीरगञ्ज