उदयपुर सिमेन्ट उद्योगको उत्पादनमा वृद्धि
पछिल्लो समयमा ऊर्जा आपूर्ति सहज भएसँगै नेपाल सरकारको स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योगले आफ्नो उत्पादनमा वृद्धि गरेको छ ।
उद्योग व्यवस्थापनका अनुसार उद्योगले हाल साढे पाँच सयबाट दैनिक सात सय मेट्रिक टन गैंडाछाप सिमेन्ट उत्पादन गर्ने गरेको छ । सिमेन्ट उत्पादनमा वृद्धि हुनाका कारणबारे उद्योगका महाप्रबन्धक सुरेन्द्रकुमार पौडेल भन्छन् “विगतमा उद्योगलाई आवश्यक पर्ने कोइला, विद्युत् र सामग्री ढुवानीमा समस्या हुने गरेको थियो । अहिले त्यस्ताे समस्या छैन ।”
केही समययता ऊर्जा आपूर्ति सहज हुँदै गएपछि उद्योगले सिमेन्ट उत्पादन क्षमतामा वृद्धि गरेको उद्योग व्यवस्थापनको भनाइ छ । उद्योगको सिमेन्ट उत्पादन गर्ने केही मेसिनको समेत मर्मत गरिएकाले प्रतिदिन सात सय मेट्रिक टन उत्पादन गर्न सम्भव भएको महाप्रबन्धक पौडेल बताउँछन् ।
चालु आर्थिक वर्षको अन्त्यसम्ममा उद्योगले रु २५ देखि ३० करोडसम्म आम्दानी गर्ने उद्योग व्यवस्थापनको दाबी छ । उदयपुर सिमेन्ट उद्योगको दैनिक आठ सय मेट्रिक टन सिमेन्ट उत्पादन गर्न सक्ने क्षमता रहेको छ ।
रासस