ब्लगशनिवार, चैत्र ५, २०७३

गोप्यदानको गुन

हिमालखबर

नेपाली साहित्यको दुर्लभ पुस्तक लघुकथाको रचनाविधान को प्रकाशन कमल दीक्षित नहुनुभएको भए सम्भव हुने थिएन।

 

-श्रीओम श्रेष्ठ 'रोदन'
कमल दीक्षित एक व्यक्तिमा अनेक व्यक्तित्व थियो। कमल दीक्षित लेखक, सम्पादक, अन्वेषक, मदन पुरस्कार गुठी र पुस्तकालयका अध्यक्षजस्ता थुप्रै परिचयमा प्रतिष्ठित हुनुहुन्थ्यो। यसबारे धेरैले संस्मरण पनि गरिसके। तर, उहाँको लघुकथाकारिताबारे कमैले चासो दिएका छन्।

८६ वर्षको उमेरमा उहाँको ८६ वटा लघुकथाको सङ्ग्रह कमल दीक्षितका लघुकथा खण्ड–२ प्रकाशित भएको थियो। ज्ञाननिष्ठ ज्ञवालीले सम्पादन गर्नुभएको सङ्ग्रहको विमोचन लघुकथा समाजको आयोजनामा होस् भन्ने चाहना दीक्षितको थियो।

गत वर्षको विनाशकारी भूकम्पको पाँच दिनअघि अर्थात् ७ वैशाख २०७२ मा पाटनढोकाको यलमाया केन्द्रमा लेखक दीक्षित, सम्पादक ज्ञवाली र मैले सामूहिक रुपमा पुस्तक विमोचन गरेका थियौं।

दीक्षितले झण्डै १९ वर्षसम्म पाटन रोटरी क्लबको साप्ताहिक बुलेटिन 'ललित धारा' मा नियमित रुपमा 'एउटा ठट्टा' स्तम्भमा लेख्नुभएको सामग्रीलाई ज्ञवालीले लघुकथाको स्वरुपमा ल्याउनुभएको थियो।

लघुकथाको रुपमा प्रकाशित हुनुपूर्व १९९ यौटा ठट्टा (२०५४), २०२ ओटा ठट्टा (२०६१) र यौटा ठट्टा २०१ परिकार (२०६६) गरी तीन पुस्तक प्रकाशित छन्।

दुवै लघुकथा सङ्ग्रहको कार्यक्रममा उहाँले आफ्ना भनिएका लघुकथाहरू मौलिक होइनन् भन्नुभएको थियो। भन्नुहुन्थ्यो, “मैले जताततैबाट चोरेर, लामो हात गरेर, बटुलेर त्यसलाई नेपाली परिवेशमा ढालेर रुपान्तर गरेको मात्र हुँ।”

त्योभन्दा पर ८६ वर्षको उमेरमा ७८औं कृतिको रुपमा उहाँको लघुकथा सङ्ग्रह प्रकाशित हुनु नेपाली लघुकथा साहित्यको लागि नै विशेष उपलब्धि होे। र, नयाँ स्रष्टाका लागि ठूलो प्रेरणा पनि।

२७ असार २०७२ मा रत्न पुस्तक भण्डारले प्रकाशित गरेको 'कमल दीक्षितका लघुकथा' खण्ड–१ को अन्तरक्रिया पनि यलमाया केन्द्रमा नै भएको थियो। अन्तरक्रियामा उहाँको लघुकथाकारिताका कमजोरीमाथि खुलेर टिप्पणी भएको थियो।

उहाँले पनि आफ्ना कमी–कमजोरी स्वीकार्दै 'अबको लघुकथा सङ्ग्रह लघुकथा समाजसँग अन्तरक्रिया गरेर मात्र निकाल्ने' बताउनुभएको मलाई सम्झना छ।

त्यसदिन उहाँले ठट्टा गर्दै भन्नुभएको थियो– “दुई वटा लघुकथा सङ्ग्रह छापिएपछि म लघुकथाकार भइहालें। लघुकथा समाजले कार्यक्रम गरिदिएपछि म आधिकारिक पनि भइहालें।”

केही बेरपछि उहाँ गम्भीर देखिनुभयो र भन्नुभयो– “लघुकथा लेख्न सिकाउने पुस्तक निकाल्नु पर्‍यो नि! यो लघुकथा समाजको दायित्व हो।”

“हामी लघुकथाको सैद्धान्तिक पुस्तक निकाल्ने योजनामा छौं तर बजेटको कारण अगाडि बढ्न सकिरहेका छैनौं”, मैले यथार्थ स्पष्ट गरिदिएँ। केहीबेर मौन उहाँले पुस्तक प्रकाशन गरिदिने घोषणा गर्नुभयो। अकल्पनीय खुशीले हामी गद्गद् भयौं।

कार्यक्रममा उपस्थित डा. लक्ष्मणप्रसाद गौतमलाई त्यहीबेला 'लघुकथाको रचनाविधान' पुस्तकका लागि अनुरोध गर्‍यौं। एकैछिनमा उहाँले शर्त राख्नुभयो– “पुस्तक यही वर्ष २०७२ भित्र नै विमोचन हुनुपर्छ। पुस्तक बिक्रीबाट आएको रकमले समाजको कोष निर्माण गर्नुपर्नेछ।” उहाँले त हाम्रो मनको भावना बुझेजस्तो गरेर पो भन्नुभयो।

आठ महीनाभित्र पुस्तक लेखन, प्रकाशन र विमोचन समेत गरिसक्नु चुनौती नै थियो हाम्रो लागि। एक दिन ठट्टा गरेजस्तो गर्दै उहाँले भन्नुभयो, “हेर्नुस् मैले पुस्तक छापिदिन्छु भनेर वचन दिएको छु। यदि केही गरेर म फ्याट्ट गइहालें भने के गर्नुहुन्छ?”

मलाई उहाँले किन यस्तो भन्नुभएको होला भन्ने लागिरह्यो। तर, त्यसको केही दिनपछि नै पुस्तकको पाण्डुलिपि लिएर लक्ष्मणजी र म पाटनढोका पुग्यौं।

उहाँले बखुण्डोलस्थित जगदम्बा प्रेसको कार्यालय लैजानुभयो र प्रबन्धकलाई भन्नुभयो, “उहाँहरूले जे भन्नुहुन्छ, जस्तो भन्नुहुन्छ त्यस्तै गरेर यो पुस्तक छापिदिनु। अरु केही सोध्नुपरे उहाँहरूलाई भन्नुस्, पैसाको लागि मलाई भन्नुस्।”

चैतको महीना थियो। प्रेसमा क्यालेण्डर छाप्ने चाप भएकोले पुस्तकका लागि केही समय पर्खिनुपर्ने भयो। तर, प्रेसमा पाण्डुलिपि जिम्मा लगाएपछि 'अब ढुक्क भयो' भन्नुुभएको थियो।  यी सबैभन्दा महत्वपूर्ण कुरा चाहिं पुस्तक प्रकाशनका कुरा भएदेखि नै उहाँले बारम्बार 'यो मेरो गोप्यदान हो, गोप्य नै रहनुपर्छ' भनिरहनुहुन्थ्यो।

गोरखापत्र ११६औं वर्ष प्रवेशको अवसरमा प्रकाशित हुने विशेषांकको लागि मेरो आग्रहमा उहाँले तयार पार्नुभएको लेख लिन वैशाखको तेस्रो हप्तातिर उहाँसँग फेरि भेट भयो। 'ठीक लाग्छ भने छाप्नुस् नभए तपाईं आफैं राख्नुस्' भन्दै रचना दिनुभयो।

अनि 'लघुकथाको रचनाविधान' गोप्यदान भए पनि तपाईं त्यसको मूली भएकोले खर्च थाहा पाउनुपर्छ, तर अरुलाई नभन्नुहोला भन्दै मलाई छपाइको बिल देखाउनुभयो। मैले उहाँको उदारमनाको प्रशंसा गरें। तर उहाँले 'प्रशंसा सुन्नलाई बिल देखाएको होइन' भनेर हाँस्नुभयो।

गएको ८ जेठमा मोहनराज शर्मा र दीक्षितबाटै 'लघुकथाको रचनाविधान' विमोचन भयो। उहाँ निकै खुशी देखिनुहुन्थ्यो। लघुकथा साहित्यमा कमल दीक्षितको यो गोप्यदान हामी चाहिं कहिल्यै बिर्सन सक्दैनौं।

 

प्रतिकृया दिनुहोस