पराजयको डर हुनेहरु निर्वाचनको विरोध गरिरहेका छन्ः केपी ओली
नेकपा एमालेका अध्यक्ष केपी ओलीले पराजयको डर भएकाहरुले निर्वाचनको विरोध गरिरहेको बताएका छन् ।
आज, ५ चैतमा सुर्खेतमा आयोजित आमसभालाई सम्बोधन गर्दै ओलीले स्थानीय तहको निर्वाचन जसरी भए पनि घोषित मितिमै हुनुपर्ने दोहोर्याउँदै वर्तमान सरकार समेत चुनाव गराउन खुट्टा कमाइरहेको आरोप लगाए ।
उनले भने, “चुनावसँग सरकार भागिरहेको छ, अहिले नै परिणाम थाहा भएकाहरु त्रासमा छन्, जसरी भए पनि चुनाव हुनैपर्छ ।”
मेची–महाकाली अभियान अन्तर्गतका अघिल्ला सभाहरुमा मधेशी मोर्चाप्रति आक्रमक देखिएका ओलीले सुर्खेतको सभामा भने नेपाली कांग्रेसलाई तारो बनाएका थिए ।
उनले कांग्रेस धेरै वर्ष सरकारमा रहेर पनि केही काम गर्न नसकेको आरोप लगाउँदै एमाले सरकारमा थोरै समय रहे पनि विकासका काम धेरै गरेको दाबी गरे ।
उनले कांग्रेसलाई दिमागी रुपमा कमजोर समेत भन्न भ्याए । “कांग्रेसको आँखामा होइन अरु कुरामा कमजोरी छ । आँखामा त चश्मा लगाउन मिल्छ दिमागमा मिल्दैन,” ओलीले भने ।
एमालेले मेची–महाकाली राष्ट्रिय अभियान ३ चैतमा कञ्चनपुर पुगेर समापन भएको घोषणा गरे पनि पूर्वपश्चिम राजमार्गले नछोइएको प्रदेश नं ६ को सुर्खेतमा उसको यो अभियान अन्तर्गतकै पूर्वनिर्धारित कार्यक्रम हो ।
ओलीले भारतीय सुरक्षाकर्मीको गोलीबाट कञ्चनपुरका गोविन्द गौतमको निधन भएको प्रसंग उठाउँदै भने, “भारतीय नेपालमै पसेर नेपालीको हत्या गर्छन, सीमा स्तम्भ सीमाबाट हराईरहेका छन्, तर सरकार भारत रिसाउँछ भनेर आँखा चिम्लन्छ ।”
दीपक ज्ञवाली, सुर्खेतबाट