टिप्पणीशनिवार, चैत्र ५, २०७३

कपिलवस्तुबारे किन आश्चर्य ?

वसन्त महर्जन

तत्कालीन वस्तुस्थितिको राम्रो जानकारी बेगर बौद्धस्थलहरूको चर्चा गर्दा अपव्याख्या मात्र नभई अर्थको अनर्थ पनि हुन पुग्छ।

नेपाल भाषाका महाकवि चित्तधर 'हृदय'को बुद्धको जीवनीमा आधारित महाकाब्य 'सुगत–सौरभ'मा प्रसिद्ध चित्रकार चन्द्रमान मास्केले कोरेको प्राचीन कपिलवस्तुको काल्पनिक चित्र। यो चित्र १९९७ सालको काण्डमा महाकवि हृदयसँगै जेलमा रहँदा मास्केले सिर्जना हुन्।

गौतम बुद्ध (ई.पू.५६३–४८३) सँग सम्बन्धित स्थलहरूको अध्ययन–अनुसन्धानमा पुरातात्विक उत्खननसँगै सही व्याख्या–विश्लेषण आवश्यक हुन्छ।

संसारभरका बौद्ध र अन्य धर्मावलम्बीहरूका लागि पनि श्रद्धास्थलका रूपमा रहेका बौद्धस्थलहरू पर्यटन उद्योगका दृष्टिले पनि महत्वपूर्ण छन्। छिमेकी भारतले आफ्नो भूमिमा पर्ने बौद्ध स्थलहरूको अध्ययन, अनुसन्धान, संरक्षण तथा प्रचारप्रसार गर्न थालेको सय वर्षभन्दा बढी भइसक्यो।

नेपालको भने यसतर्फ ध्यान गएको केही दशक मात्र भएको छ, त्यो पनि गौतम बुद्धको जन्मस्थल लुम्बिनी र उनले २९ वर्षसम्म गृहस्थ जीवन बिताएको कपिलवस्तुमा मात्र। नेपालमा बुद्धसँग सम्बन्धित स्थल धेरै छन् र ती सबैको उपेक्षा गर्न नमिल्ने कुरा बुझ्नुपर्छ। 

उत्खननका क्रममा प्रकाशमा आउने कुरालाई लिएर व्यक्त गरिने प्रतिक्रिया वा उत्साह हेर्दा लाग्छ, यी कुरा नितान्त नौला र आश्चर्यजनक हुन्। जबकि, बौद्ध ग्रन्थहरूमा पढिंदै आएका कुरा हुन् ती।

उत्खननले त त्यसलाई भौतिक रूपमा प्रमाणित मात्र गरेको हो। तत्कालीन वस्तुस्थिति वा बौद्ध पृष्ठभूमिबारे जानकारी नराखी गरिने बौद्धिक बहस यसरी कमजोर भएको छ।

कपिलवस्तु उत्खननको पछिल्लो उपलब्धि बुद्ध जन्मनुभन्दा अघिका अवशेषहरूको प्राप्ति हो। यो प्राप्तिमा प्राचीन तिलौराकोट गौतम बुद्धभन्दा जेठो, सुव्यवस्थित र सुन्दर शहर रहेको भनी बडो आश्चर्य मानेको देखियो।

कपिलवस्तु गौतम बुद्धद्वारा स्थापित वा उनीपछि विकसित भएको नभएर उनको गृहनगर मात्र भएको कुरा हेक्का राख्दा यसमा आश्चर्य मान्नुपर्ने कुरा बाँकी रहँदैन।

बुद्धभन्दा पुरानो कुरा भेटिएको भन्दै बुद्धलाई नै ओझेलमा पार्ने खालको प्रचार यसअघि लुम्बिनीमा पनि भएको थियो। जबकि, बुद्ध जन्मनुअघि नै लुम्बिनी प्रसिद्ध रहेको बौद्ध वाङ्मयमा स्पष्ट उल्लेख छ।

मायादेवीले लुम्बिनीस्थित यक्षको पूजा स्थललाई लक्ष्य गरी कपिलवस्तु–लुम्बिनी यात्रा गरेको तथ्यमा ध्यान नदिंदा बुद्ध जन्मनुअघि नै त्यहाँ मन्दिर रहेको भन्ने व्याख्या हुन थाल्यो। 'मन्दिर' ले गैर–बौद्धस्थल भन्ने अर्थ दिन्छ।

कपिलवस्तु संग्रहालयमा रहेको तिलौराकोट उत्खननका क्रममा भेटिएको नारी मूर्ति।

बुद्धको जन्मभन्दा सयौं वर्षअघि नै कपिलवस्तु समृद्ध नगर बनेको अनेकौं सन्दर्भ–दृष्टान्त छन्। त्यो समृद्धिबाट लोभिएर उत्तरको एउटा पहाडी जाति गौतम बुद्धका हजुरबुवा सिंहहनुको समयमा लूटमार गर्न कपिलवस्तु झारेको प्रसंग पुरातत्वविद् पी.सी. मुखर्जीले 'अ रिपोर्ट अन अ टूर अफ एक्सप्लोरेशन अफ एन्टिक्विटिज अफ कपिलवस्तु तराई अफ नेपाल (सन् १९०१)' मा उल्लेख गरेका छन्।

प्राचीन कपिलवस्तु राज्यको राजधानीको नाम कपिलवस्तु नै थियो। राजा शुद्धोधनले छोरा सिद्धार्थ (गौतम बुद्ध) को सुखसयलका लागि तीनवटा विलासी भवन– रम्य (नौ तले), सुरम्य (सात तले) र शुभ (पाँच तले) बनाएको र त्यहाँ तीन ऋतुको अनुभव हुने वर्णनबाट कपिलवस्तुको समृद्धि आकलन गर्न सकिन्छ।

जातक अर्थकथा अनुसार, कपिलवस्तु १८ हात अग्लो पर्खालले घेरिएको थियो। अर्को बौद्धग्रन्थ महावस्तुमा यो नगर सात वटा पर्खालले घेरिएको वर्णन छ।

आजको तिलौराकोट त केही अवशेष मात्र हो, राजधानीको मुख्य प्रशासनिक क्षेत्र मात्रै पनि एक योजनसम्म (प्राचीन वैदिक पद्धतिअनुसारको मापन इकाइ, जसमा एक योजन बराबर १३ देखि १६ किलोमिटर हुनुपर्छ भन्ने अनुमान छ) फैलिएको थियो।

अहिलेको भूसतहभन्दा मुनि फराकिला सडकहरूको अवशेष रहेको एरियल सर्भेबाट स्पष्ट भइसकेको छ। प्राचीन कपिलवस्तु राज्यको चर्चा गर्दा त्यसभित्र राजधानी कपिलवस्तुबाहेक मेदलुम्प, शीलवती, खोमदुस्स, उलुम्म, चातुम, सक्खर, सामगाम, दीपवत्थु आदि आ–आफ्नै विशेषतायुक्त समृद्ध नगरहरू रहेको बिर्सनुहुँदैन।

यस बाहेक कपिलवस्तु राज्यमा अनेक वन र ग्रामहरू पनि थिए। द्रोणवस्तु गाउँका ब्राह्मण कौडण्यले शुद्धोधनपुत्र सिद्धार्थ भविष्यमा बुद्धत्व प्राप्त गर्ने भविष्यवाणी गरेका थिए। वर्तमान दाङ प्राचीन द्रोणवस्तु हो भन्ने यो स्तम्भकारको अनुमान छ। 

कपिलवस्तुका नगरहरूको आ–आफ्नै विशेषता थिए। जस्तो, खोमदुस्स सनपाट र रेसम उत्पादनका लागि प्रसिद्ध थियो। गौतम बुद्धकै समयमा यी नगरहरूमा बौद्ध विहारहरू बनिसकेका थिए। बुद्धको उपदेश सुन्न कोशलनरेश प्रसेनजीत मेदलुम्प आएको वर्णन बौद्धग्रन्थ 'मज्झिमनिकाय' मा छ।

लुम्बिनीदेखि कपिलवस्तुसम्मको इलाकालाई दक्षिणपूर्वमा पावा र कुशीनगर तथा पश्चिममा श्रावस्तीसँग मूलबाटोले जोडेको थियो। कपिलवस्तु राजधानी मात्र नभएर अन्तरदेशीय व्यापारिक केन्द्र पनि थियो।

कपिलवस्तुमाथि गौतम बुद्धको जीवनकालमै कोशल देशका नयाँ राजा विडूडभ (राजा प्रसेनजीतका छोरा) ले भयंकर आक्रमण गरेका थिए। त्यसपछि कपिलवस्तु समाप्त नै नभए पनि कमजोर बनेको बुझ्न सकिन्छ।

गौतम बुद्धसँग सम्बन्धित स्थलहरूको चर्चा गर्दा तत्कालीन वस्तुस्थितिको राम्रो जानकारी राख्नैपर्छ। नत्र, बुद्धभन्दा जेठो कुरा भेटियो भनेर आश्चर्य मान्नेदेखि फरक व्याख्या र अर्थको अनर्थसम्म हुन पुग्छ।

प्रतिकृया दिनुहोस