ब्लगशनिवार, चैत्र ५, २०७३

उदार पूँजीवादको आतंक

शंकर तिवारी


भारतमा नरेन्द्र मोदीको उदय, बेलायतमा ब्रेक्जिट, अमेरिकामा डोनाल्ड ट्रम्पको लहर वर्तमान समयका असामान्य घटना हुन्। यी घटनाका उठानले रोमाञ्चित कम र आतंकित ज्यादा भएको वर्तमान विश्वले यसको सामूहिक बैठान कस्तो हुन्छ भनेर आकलन गर्न पनि डराउनुपर्ने भयावह परिस्थिति उत्पन्न भएको छ।

पंकज मिश्र

भारतीय मूलका साहित्यकार एवं लेखक, समीक्षक पंकज मिश्रले एज अफ एंगर, अ हिस्ट्री अफ द प्रिजेन्ट पुस्तकमा यही जटिल वर्तमानको दुरुह इतिहास खोतल्ने कोशिश गरेका छन्। 

इतिहासतर्फको उडानमा मिश्रले इन्लाइटनमेन्ट, फ्रान्सेली क्रान्ति र औद्योगिकीकरणको शुरुआती युगसम्म पुर्‍याउँछन्। विशेष गरी दुई सय वर्षयता अफ्रिकाको इजिप्ट, युरोप र अमेरिकामा भएका र इतिहासको मूलधारमा बेवास्ता गरिएका घटनाक्रम खोतल्दै साहित्यिक पात्रहरूको सहारा लिएर मिश्रले तर्कहरूको प्रस्थापना तयार पार्दछन्।

पश्चिमा दर्शनलाई सर्वश्रेष्ठ दावा गर्ने, पश्चिमका लेखकका तर्कलाई अकाट्य सत्य मान्ने परम्परामाथि धावा बोल्दै मिश्रले फ्रान्सिस फुकुयामाको 'द इन्ड अफ हिस्ट्री एण्ड दि लास्ट म्यान' को मर्ममाथि प्रहार गरेका छन्।

पश्चिमले बाँकी विश्वलाई एकांकी इतिहास, साहित्य, अर्थतन्त्र, सौन्दर्यशास्त्रको भारी प्रसार गरेको उनको आक्षेप छ। मिश्रले यस्तो एकांकी प्रसारणलाई 'साबोटाज्ड हिस्ट्री' भनेका छन्।

उदारवादी पूँजीवादको एकोहोरो सफलताको पश्चिमको भुलभुलैयालाई बाँकी विश्व एशिया, अफ्रिका र ल्याटिन अमेरिकाले सत्य ठानेकै कारण अहिलेको विश्व संकटमा फसेको उनको दाबी छ।

एट्लान्टिक महासागर पश्चिमका ती देशहरूको उदार पूँजीवादतर्फको यात्रामा जे जस्ता समस्या देखिएका थिए, विकासशील विश्व अहिले तिनै समस्याले घेरिएको मिश्रको ठहर छ।

उदार पूँजीवादले समानताको डंका पिटे पनि सम्पन्नता र अवसरको असमान वितरणले ती समाजमा दिगो शान्ति कायम हुन नसकेको उनको तर्क छ।

बरु उदार पूँजीवादको गति र दिशा पक्रन नसक्ने, लिकबाट बाहिरिएकाहरूको 'हिंसात्मक आक्रोश' अर्थात् 'रिसेन्टिमेन्ट' ले गर्दा नै वर्तमान विश्व आक्रोश विस्फोटको सँघारमा उभिएको छ। मिश्र यो आक्रोशको विस्फोटलाई विश्वव्यापी गृहयुद्ध भन्न रुचाउँछन्। यसैबाट तेस्रो विश्वयुद्धको शुरुआत हुने उनको दाबी छ।

मिश्र प्रश्न गर्छन्– पहिलो विश्वयुद्ध कसले गरायो? दोस्रो विश्वयुद्ध के कारणले भयो? आर्थिक मन्दी कसका कारण हुन्छन्? इस्लाम धर्मलाई कसले भड्काइरहेको छ? यस्ता प्रश्नहरूले चोरऔंला अरुतर्फ इंगित गरे तापनि बाँकी चार औंला उदारवादी पूँजीवादतर्फ नै फर्किने मिश्रको ठोकुवा छ।

उनले किटेरै भनेका छन्, 'तार्किकता, मानवता र उदार लोकतन्त्रमा पश्चिमा विश्वको अवतरण शान्तिपूर्ण नभएर विशाल नरसंहार र आतंकको जगमा खडा भएको थियो। ती देशमा अहिले पनि 'राम राज्य' अर्थात् युटोपियामा वर्णन गरिएको संसार स्थापित भएको छैन।'

प्रथम र द्वितीय विश्वयुद्धमा शत्रु पक्ष र मित्र पक्ष घोषित थिए तर अहिले आतंकवादको लडाइँमा शत्रु र मित्र छुट्याउन कठिन भएको छ। कहाँ, कतिबेला कसले आक्रमण गर्छ, यकिन छैन। विश्व इतिहासमै नभएको डर र भयबाट आक्रान्त हुन पुगेको छ।

अराजकतावाद पुनः हावी भएको छ। यी अराजकतावादीको मूल/मुहान जोहन गोतालिएब फिफ्ते, मिखाइल बकुनिन र पिटर क्रोपोत्किनको दर्शन हो। यिनै अराजकतावादीहरूले सन् १८८१ मा रुसका जार अलेक्जेण्डर द्वितीय, फ्रान्सका राष्ट्रपति कार्नोट, अमेरिकी राष्ट्रपति म्याकिन्ले, इटालीका राजा उम्बर्तो प्रथम, अष्ट्रियाकी महारानी एलिजावेथ, स्पेनका प्रधानमन्त्री कानोभासको हत्यामार्फत सनसनी फैलाएका थिए।

मिश्र निर्धक्क भन्छन्– आईएसआईएसमा लागेका मुस्लिम युवा इराक र सिरियाबाट मात्र नभएर ट्युनिसिया र बेलायतका शिक्षित महिला समेत हुनु संयोग मात्र होइन। पूँजीवादी व्यवस्थामा गम्भीर खोट भएकै कारण ती होनहार युवा रगतको होली खेल्न लालायित छन्।

हत्या, संहारका दृश्यहरू भिडियो टेप, लाइभ स्ट्रिम, फेसबुक, ट्वीटरमार्फत क्षणभरमै भाइरल बन्न पुग्छन्। मानौं समाजमा 'डान्स मकाबर' अर्थात् मृत्युको रासलीला चलिरहेको छ। पूँजीवादी श्रेष्ठताको होडमा पछि परेकाहरू नै यसखाले कहालिलाग्दा र पासविक घटनामा संलग्न छन्। यसले वर्तमान विश्वको सामाजिक अवस्था र नैतिक बल कमजोर भइरहेको पुष्टि गर्छ।

आक्रोश अस्त्र
भारतीय स्वतन्त्रता संग्राममा वीर सवारकर भन्दा महात्मा गान्धी पूज्य थिए। तर, अहिले सवारकरको सम्झना धेरै गर्न थालिएको छ। कारण, सवारकर प्रधानमन्त्री नरेन्द्र मोदीका प्रिय पात्र हुन्। हुन त सवारकर र गान्धी दुवैका लागि इटालीका निर्माता माजिनीका विचार मुख्य स्रोत थिए।

तर, विचार सम्प्रेषणका क्रममा माजिनी सवारकर र गान्धी परम्परविरोधी देखिए। राष्ट्र राज्य (नेसन स्टेट) को अवधारणामा माजिनी एक सहज प्रस्थानविन्दु हुन्।

तर, अति राष्ट्रवादीहरूको उदयले भारतको राष्ट्रवाद कुरुप हुन पुगेको छ। अल्पसंख्यक भयभीत छन्, फरक मतको 'स्पेस' नै नामेट पार्न खोजिएको छ। दक्षिणपन्थको रापतापमा मुसोलिनीको फासीवादी र हिटलरको नाजीवादी तानाशाहीको झ्ाल्को देखिन थालेको छ।

फ्रान्सेली क्रान्तिसँग जोडिएका दुई दार्शनिक रुसो र भोल्तेयरको समानान्तर चर्चामार्फत मिश्र पूँजीवादको उदयले विश्वलाई एकैपटक 'रिपब्लिक अफ लेटर्स (अक्षरहरूको गणतन्त्र)' मा होमिदिएको बताउँछन्।

राजसंस्थाको पतनले मानिसको भित्री सामर्थ्य र आत्मविश्वास बढेको तर रुसोले जति गणतन्त्रका अन्तरनिहित/आसन्न संकटबारे भोल्तेयरले खुट्याउन नसकेको मिश्रको ठहर छ।

दुर्भाग्य के भने रुसोले इंगित गरेका यिनै गणतन्त्रका खतरालाई पूँजीवादी मूलधारको बहसमा किनारीकृत गरियो। त्यसैले मिश्रको जोड छ– अब रुसोको 'सामाजिक सम्झौता' र 'जन–इच्छा' भन्दा परका विचारलाई पनि बहसमा ल्याऔं र चर्चा गरौं।

झट्ट हेर्दा निराशावादी संकथन जस्तो लागे पनि मिश्रको भाष्यलाई बेवास्ता गर्नु महाभूल हुनेछ। किनकि उनले शून्यवादी दर्शनको सहारा मात्र लिएका छैनन्।

मिश्र पूँजीवादको संरचनात्मक तनाव, आन्तरिक मतभेद र जटिलताको विस्तृत चर्चा गर्छन्। कुनै पनि घटनालाई पृथक् र निरपेक्ष रुपमा हेर्नु त्रुटिपूर्ण हुनेछ किनकि आधुनिकीकरणको प्रस्थापना नै त्रुटिपूर्ण छ। मानिस एक र अभिभाज्य नभएर बहुल छ।

मिश्रले आक्रोशलाई नै एउटा नयाँ वादको रुपमा प्रस्तुत गरेका छन्। तर आक्रोश तह लगाउन वा नियन्त्रण गर्न आक्रोशकै औजारले कामयाब हुन्छ वा अरु केहीको सहारा लिनुपर्छ बताउन भने लेखक नराम्रोसँग चुकेका छन्।

पुस्तक एज अफ एंगर, अ हिस्ट्री अफ दि प्रिजेन्ट 
लेखक पंकज मिश्र
प्रकाशक जगरनट, भारत
पृष्ठ ४०५+३५
मूल्य ६९९ (भारु)

विकल्पका रुपमा सामाजिक लोकतन्त्रको चर्चा गरेको भए पुस्तकको स्वीकार्यताको दायरा अझ फराकिलो बन्थ्यो। मानव जीवनको साइबरस्पेस प्रवेशले टाइम, स्पेस, ज्ञान, मान्यता, पहिचान र सामाजिक सम्बन्धलाई खल्बल्याइदिएको छ।

त्यसो त रुसोले भविष्यवाणी गरेकै थिए, 'पूँजीको बोलवाला हुने समाजमा मानिस केवल आफ्ना लागि बाँच्दछ न त देशका लागि। सामाजिक महत्व नै पेशाका आधारमा मापन हुने भएकाले आफ्नो अहंको सर्वोच्चता पुष्टि गर्नका लागि मात्र बाँच्नेछ।

अर्काले मान गर्छ कि गर्दैन, चाहेजस्तो आदर प्राप्त हुन्छ कि हुँदैन, मानिसको सम्पूर्ण ध्यान यति कुरामा मात्र हुन्छ। अर्को कुरा मानिस आफू सफल हुनु मात्र पर्याप्त रहेन। अर्को असफल हुनै पर्‍यो।'

आप्रवासनले मानिसलाई जराविहीन बनाइदिएको छ। आफ्नो थातथलो भन्नेहरू यस्तै जराविहीनमार्फत अल्पमतमा परेका छन्। ब्रेक्जिट, ट्रम्पको विजय त्यसैको परिणाम हो।

बहुसंख्यक हिन्दू भएको भारतमा मोदीको विजय पनि त्यस्तै जरा खोजीकै परिणति हो। जराको खोजी हुने बेलामा 'डेमागग' हरू हावी हुन्छन्, किनकि मानिसलाई 'मुक्तिदाता' चाहिएको छ। कथित मुक्तिदाताहरू जातीय सर्वोच्चताको नाममा थप नरसंहार निम्त्याउँछन्। आजको युग आक्रोशको युग हुनुको कारण यही हो। मिश्रको कथन यही हो।

सात खण्डमा विभाजित पुस्तकले पाठकको मस्तिष्क अन्त्यसम्म गिजोलिरहन्छ। पुस्तकको २६ पृष्ठ लामो बिब्लियोग्राफिक एस्सेमा उल्लिखित पुस्तकको लहरले मिश्रको लेखकीय गहिराइ ठम्याउन सजिलो हुन्छ।

स्वयं प्रतिष्ठित समीक्षक भएकाले पनि पुस्तकको वैचारिकीमा हस्तक्षेप गर्दा आफ्नो प्रस्थापनालाई दरिलोसँग उभ्याउनु उनका लागि चुनौती थियो, जसमा उनी सफल भएका छन्।

मिश्रले वर्तमानको त्रासदी निवारणको उपाय खोज्न खुल्ला बहसको आमन्त्रण गरेका छन्। फुकुयामा र अन्य पश्चिमा चिन्तकहरूको यसखाले गल्तीबाट उनी बचेका छन्। त्यसैले हुनुपर्छ, मिश्रले आफूलाई पश्चिमाको 'सौतेलो सन्तान' भनेको।

प्रतिकृया दिनुहोस