भारतीय प्रधानमन्त्रीसँग उपप्रधानमन्त्री निधिको भेट
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले शिष्टाचार भेट गरेका छन् ।
भेटका क्रममा नेपाल–भारत सम्बन्धका साथै पारस्परिक हित र चासोका विषयमा विचारविमर्श भएको गृहमन्त्रीको निजी सचिवालयले जनाएको छ । साथै मन्त्री निधिले कञ्चनपुर घटनाबारे प्रधानमन्त्री मोदीको ध्यानाकर्षण गराएका थिए । प्रधानमन्त्री मोदीले कञ्चनपुर घटनाबारे सूक्ष्म अध्ययन भइरहेको र दोषीलाई कारबाही गर्न भारत सरकार तयार रहेको बताएका जनाएको छ ।
यसैगरी नेपालमा आगामी वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि बन्दोबस्तीका सामान उपलब्ध गराउन गृहमन्त्री निधिले आग्रह गेका थिए ।
भारतमा हालै सम्पन्न प्रान्तीय निर्वाचनमा प्रधानमन्त्री मोदीको पार्टीले सफलता हासिल गरेकामा मन्त्री निधिले नेपाल सरकार, नेपाली जनता, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र आफ्नातर्फबाट बधाई ज्ञापन गरेका थिए । नेपालको आसन्न स्थानीय तहको निर्वाचनलाई आवश्यक पर्ने सबै सहयोग उपलब्ध गराउन पनि भारत तयार रहेको प्रधानमन्त्री मोदीले बताए ।
यसैबीच उपप्रधान तथा गृहमन्त्री निधि आतङ्कवाद प्रतिवादसम्बन्धी भारतमा आयोजना गरिएको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिई ४ चैत राती स्वदेश फर्केका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै मन्त्री निधिले भ्रमण उपलब्धिमूलक रहेको बताए । रासस