'मधेशी मोर्चा सहमतिमा नआए पनि चुनाव हुन्छ'
प्रधानमन्त्री पुष्पकमल दाहालका राजनीतिक सल्लाहकार चक्रपाणि खनालले मधेशी मोर्चा सहभागी नभए पनि स्थानीय तहको निर्वाचन हुने स्पष्ट पारेका छन्।
आज, ४ फागुनमा रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै खनालले भने, "मोर्चाका साथीहरुसँग हामी निरन्तर सम्वादमै छौं, वार्ता तथा छलफलबाट पनि कुनै सहमति निस्किएन भनेपनि हामी अब चुनाव रोक्ने पक्षमा छैनौं, चुनाव हुन्छ।"
उनले जनताले चुनाव चाहेको र मुलुक चुनावमय भइसकेकाले सरकारले चुनाव सम्पन्न गर्न युद्धस्तरमा काम गरिरहेको बताए ।
स्थानीय तह कार्यान्वयन शुरु भएसँगै जनताले विकासको अनुभूति गर्न थालेको समेत खनालले दाबी गरे ।
"चुनाव एक महिना रोकेर वार्ता गरौंला रे, तर सहमति भएन भने के हुन्छ? त्यसैले चुनाव रोकिँदैन्, तर वार्ता जारी रहन्छ।"
उनले आगामी ७ माघ २०७४भित्रै तीन तहकै निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक बाध्यता भएकोले सरकार त्यही अनुरुप गम्भिर भएर निर्वाचनको तयारीमा जुटेको बताए।
"अदालत बोलिसकेको छ, ७ माघभित्रै तीन तहकै निर्वाचन गर्नुपर्छ, हामी चुनाव नगरी अघि बढ्न सक्दैनौं, चुनावलाई अघि बढाउनैपर्छ, यो सरकारको प्रमुख प्राथमिकता हो।"
यद्धपी उनले संविधान संशोधनमार्फत मधेशी मोर्चाको माग सम्बोधन तथा समस्याको निकासको लागि सरकारले प्रयास गरिरहने बताए।
"अन्तिम प्रयत्न गर्दापनि सहमति भएन भने हामी चुनाव रोक्दैनौं, जहाँ जनताले चुनावको माग गरेका छन्, त्यहाँ चुनाव हुन्छ, खनालले भने ।
खनालले कोही चुनाव विथोल्नेगरि 'एक्सन' मा आए भने सरकार पनि 'रिएक्सन' मा आउने बताएका थिए।
निर्वाचन हुन दिन्नौं: कर्ण
सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले भने यथास्थितिमा आफूहरुले स्थानीय तहको निर्वाचनमा भाग नलिने भन्दै सरकारले जबर्जस्ती गरे आफूहरुले प्रतिकार गर्ने बताए ।
"हामी चुनावको अवज्ञा गर्छौं, निर्वाचन टोलीलाई हामी गाउँ पस्न दिँदैनौं," उनले भने, "हामी आन्दोलन गर्छौं।"