राष्ट्र बैङ्कको निर्देशन लागू भएन, अनुत्पादक क्षेत्रमा लगानी बढ्दै
नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीति २०७३/७४ को मध्यावधी समीक्षा गर्दै अनुत्पादक क्षेत्रमा भइरहेको कर्जा घटाउन बैङ्क तथा वित्तीय संस्थाहरूलाई निर्देशन दियो तर, राष्ट्र बैङ्कको निर्देशन विपरीत पुस महिनाको तुलनामा माघमा कर्जाको दर झन् बढेको छ ।
राष्ट्र बैङ्कको तथ्याङक अनुसार बैङ्क तथा वित्तीय संस्थाहरूले पुस महिनामा ३४१ अर्ब ३० करोड रुपैयाँ ओभरड्राफ्ट कर्जा प्रवाह गरेका थिए । तर यो कर्जा राष्ट्र बैङ्कको निर्देशन पछि माघ महिनामा बढेर ३४२ अर्ब २० करोड रुपैयाँ पुगेको छ ।
त्यस्तै पुस महिनामा २८६ अर्ब ३० करोड रुपैँया घर–जग्गा कर्जामा लगानी गरेका छन् भने माघमा २९१ अर्ब ५० करोड रुपैयाँ लगानी भएको छ ।
हायर पर्चेज कर्जामा पुस महिनामा १४२ अर्ब ६० करोड कर्जा प्रवाह भएको थियो भने माघमा १४६ अर्ब ३० करोड पुगेको छ । पुस महिनामा शेयर मार्जिनमा ४० अर्ब ८० करोड लगानी गरेका बैङ्क तथा वित्तीय संस्थाहरूले माघमा ४२ अर्ब ३० करोड पुर्याएका छन् ।
राष्ट्र बैङ्कले वित्तीय अनुसाशन कायम गर्न अनुत्पादक क्षेत्रमा लगानी घटाउने नीति लिए पनि कार्यान्वयनमा भने समस्या देखिएको छ । राष्ट्र बैङ्कले घर–जग्गा, ओभर ड्राफ्ट, हायर पर्चेज, शेयर मार्जिनलगायतका क्षेत्रमा हुने लगानीलाई अनुत्पादक क्षेत्र तोकेको छ ।