प्रधानमन्त्री-संयुक्त राष्ट्र सङ्घ उपमहासचिवबीच भेट
प्रधानमन्त्री पुष्पकमल दाहाल र संयुक्त राष्ट्र सङ्घकी उपमहासचिव सम्साद अख्तरबीच भेटर्वार्ता भएको छ ।
संयुक्त राष्ट्र सङ्घ इकोनोमिक एण्ड सोसल कमिसन फर एसिया एण्ड प्यासिफिकको कार्यकारी प्रमुखसमेत रहकी सम्साद अख्तरले आफ्नो ५ बर्षे कार्यकाल पूरा गरेको अवसरमा प्रधानमन्त्रीसँग बिदाइ भेट गरेकी हुन् ।
शुक्रवार सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्रीले उनको कार्यकालमा नेपालको विभिन्न क्षेत्रमा संयुक्त राष्ट्र संघवाट प्राप्त सहयोगप्रति आभार प्रकट गरे । साथै नेपालको शान्ति प्रक्रियालाई मौलिक ढङ्गले टुंगो लगाउन संयुक्त राष्ट्र सङ्घले पुर्याएको योगदानप्रति धन्यवाद समेत दिए । भेटमा प्रधानमन्त्रीले शान्ति प्रक्रियाका केही बाँकी कार्यभार पूरा गर्न सरकार लागि परेको जानकारी गराए ।
उक्त अवसरमा अख्तरले प्रधानमन्त्रीलाई आगामी २१ र २२ अप्रिलमा बैंककमा हुने संयुक्त राष्ट्र सङ्घको दिगो विकास सम्बन्धी क्षेत्रीय सम्मेलनमा सहभागिताका लागि निम्तो दिइन् । उनले नेपालको विकास, शान्ति र आर्थिक सम्वृद्धिका लागि संयुक्त राष्ट्र सङ्घको सहयोग जारी रहने बताउँदै विश्वमा शान्ति स्थापनाका लागि नेपालले गरेको योगदानको प्रशंसा समेत गरिन् ।