कञ्चनपुरका घाइतेको उपचारमा सरकारको बेवास्ता
भारतीय सीमा सुरक्षा बल (एसएसबी) को कुटाईबाट घाइते भएका कञ्चनपुर बेलौरी ६ शान्तिपुरका ३३ वर्षीय टीकाराम चापागार्इँको आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ ।
२६ फागुनमा सीमा नजिक एसएसबी र नेपाली नागरिकबीच भएको विवादका क्रममा नेपालीे भूमिमा झण्डा गाड्न गएका चापागाईँलाई एसएसबीले बन्दुकको कुन्दाले हानेर घाइते बनाएको थियो ।
नेपालगञ्जस्थित वेस्टर्न अस्पतालमा उपचार गराईरहेका उनलाई सरकारी निकायबाट कुनै सहयोग हुन सकेको छैन ।
घाइते चापागार्इँको स्वास्थ्य उपचार सरकारी तवरबाटै गराउने कन्चनपुरका प्रमुख जिल्ला अधिकारीले आश्वासन दिएपनि अहिलेसम्म कोही पनि सम्पर्कमा नआएको उनकी श्रीमती सविनाले जानकारी दिइन् ।
सीमा क्षेत्र नजिक नेपाली भूमिमा कल्भर्ट निर्माण गर्ने क्रममा भारतीय एसएसबी र नेपाली नागरिकबीच झडप भएको थियो ।
झडपको क्रममा एसएसबीको गोली लागी कन्चनपुरका गोबिन्द गौतमको मृत्यु भएको थियो । गौतमलाई सरकारले शहीद घोषणा गरिसको छ ।
तर, सोही घटनाका घाइतेको उपचारका लागि भने सरकारले कुनै किसिमको सहयोग गरेको छैन ।
यता उपचारका लागि बेलौरी उद्योग बाणिज्य संघबाट १० हजार र बेलौरी नगरपालिकाका लोकेन्द्र शाहीबाट १५ हजार सहयोग पाएको घाइते चापागाईँले बताए ।
केशव राना, बाँके